दसैंको छेकमा जम्मा १६ दिन स्कुल खोल्न किन तम्तयारी?

सेतोपाटी

खिलानाथ ढकाल

काठमाडौं उपत्यकामा कोरोना संक्रमण घटे पनि जोखिम जस्ताको तस्तै रहेको सरूवारोग विशेषज्ञहरूले बताइरहेका छन्। स्वास्थ्य मन्त्रालयले केही समयअघि मात्र तेस्रो भेरियन्ट फैलिन सक्ने अनुमान सार्वजनिक गरेको थियो र यसकाे सबभन्दा बढी जोखिम खोप नलगाएका स्कुले केटाकेटीहरूलाई छ।

मंगलबारको तथ्यांकअनुसार काठमाडौं उपत्यकामा ४०४ जना नयाँ संक्रमित थपिएका छन् भने सक्रिय संक्रमित संख्या ६ हजार २ सय ५३ छ।

यही बेला उपत्यकाभित्र भने स्कुल खोल्न 'दबाब' सिर्जना भइरहेको छ। 

काठमाडौं जिल्ला प्रशासनले 'मापदण्ड पूरा गरेर स्कुल सञ्चालन गर्न सकिने' भनेपछि उपत्यकाका स्थानीय तहहरू असोज १ बाट भौतिक कक्षा सञ्चालन गराउने तम्तयारीमा लागेका हुन्।

ललितपुर महानगरपालिकाले सोमबार सार्वजनिक सूचना जारी गरी असोज १ बाट भौतिक कक्षा सञ्चालन गर्न अनुमति दिइसकेको छ भने काठमाडौं महानगरपालिकाले बुधबार वा बिहीबारसम्म निर्णय गर्ने तयारी गरिरहेको छ।

'जिल्ला प्रशासनले स्कुल खोल्न सकिन्छ भनेर राय दिएपछि हामी विद्यालय सञ्चालक र अभिभावकहरूसँग छलफल गरिरहेका छौं,' काठमाडौं महानगर प्रवक्ता ईश्वरमान डंगोलले भने।

भक्तपुरका स्थानीय तह पनि जिल्लास्तरीय कोभिड संकट व्यवस्थापन समिति (डिसिसिएमसी) को निर्णय कुरिरहेका छन्। भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार स्कुल खोल्ने कि नखोल्ने भन्नेबारे बिहीबार छलफल हुनेछ। त्यसपछि डिसिसिएमसीको बैठक बसेर निर्णय लिइनेछ।

प्रकाशित मिति: : 2021-09-15 10:56:00

प्रतिकृया दिनुहोस्