प्रमुख प्रतिपक्षी नेकपा (एमाले) संसदीय दलको बैठक आज अपराह्न १२ बजे बस्दैछ।
संसद बैठकको एक घन्टा अर्थात १२ बजे दलको बैठक बस्न लागेको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए। दुबै सदनको बैठक अपराह्न १ बजे बस्दैछ।
प्रतिपक्षीको विरोधका बीच सरकारले संसदमा पेलेरै जाने रणनीति अंगिकार गरेपछि सो विषयमा धारणा बनाउन संसदीय दलको बैठक बस्न लागेको हो।
‘एमालेले कारबाही गरेका सांसदका विषयमा सभामुखले समयमै निर्णय नदिएको विषयमा हामीले संसदमा विरोध जनाउदै आएका छाैँ। विरोधका बीच प्रतिस्थापन बजेट ल्याइएको छ,’ भट्टराईले भने, ‘प्रक्रिया नै नपुर्याएर प्रतिस्थापन बजेट कसरी आयो ?’
आजको सदनमा एक दर्जन अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची छ। प्रधानमन्त्री शेरबहादुर देउवा पनि संसद जाँदैछन्। देउवाले शपथसम्बन्धी अध्यादेश, २०७८ लाई स्वीकृतीका लागि प्रस्ताव पेस गर्ने र रेल्वे अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस् भन्ने प्रस्तावसमेत पेस गर्ने कार्यसूची रहेको संघीय संसदको सचिवालयले जनाएको छ।
एमाले भने प्रधानमन्त्रीलाई राेस्टममै जान नदिने रणनीतिमा छ। गत शुक्रबार अर्थमन्त्री जनार्दन शर्मा पनि प्रतिपक्षीलाई छलेर राेस्टम पुगेका थिए। जसलाई एमालेले 'गुरिल्ला शैली'भन्दै आएकाे छ।
‘आजको सदन पनि अवरोध गर्छाै, राेस्टममा जान दिँदैनाैँ,’ भट्टराईले भने, ‘उहाँहरू पेलेरै जाने मनस्थितिमा हुनुभयो। उग्र हुनुभयो हामी प्रतिवाद गर्छाैँ।’