पेरूको साइनिङपाथ आन्दोलन भनेर चिनिने अबिमाइल गुजम्यान गोन्जालोको निधन भएको छ। उनको ८६ वर्षको उमेरमा पेरुको एउटा अस्पतालमा निधन भएको हो।
'आतंकवाद र देशद्रोह' अभियोगमा उनलाई सन् १९९२ मा तत्कालीन सरकारले पक्राउ गरी आजिबन काराबासको सजाँय सुनाएको थियो।
यही जुलाईमा स्वाथ्यमा समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। उनको सुरक्षामा खटिएको प्रहरीको एउटा ठूलो समूह अस्पतालमा तैनाथ गरिएको थियो।
उनले नेतृत्व गरेको पेरूको माओवादी गुरिल्ला समूह र पेरू सरकारका सेनाबीच भएको एक दशक भन्दा बढी लामो गृहयुद्धमा ७० हजार भन्दा बढी मानिसको मृत्यु भएको थियो।
गोन्जालोको पक्राउपछि विद्रोही समूहलाई ठूलो क्षति भएको थियो। समूहका सदस्यहरु अहिले पनि पेरुको केही क्षेत्रमा सक्रिय छन्।
को हुन गोन्जालो ?
विश्व विद्यालयका पूर्वप्राध्यापकसमेत रहेका गोन्जालोले सन् १९६० को दशकमा माओवादी लडाकू समूह गठन गरेका थिए। सन् १९८० को दशकमा गुरिल्ला समूहमा रुपान्तरण भएको सो समूहले पेरू सरकारविरुद्ध रक्तपातपूर्ण युद्ध गरेको थियो।
१० हजार बढी गुरिल्लाको युद्धका कारण सन् १९८० को अन्ततिर पेरू सरकारले झण्डै घुँडा टेकेको थियो। एक दशक लामो युद्धमा ७० हजारको मृत्यु भएको थियो।
सन् १९९२ मा त्यहाँको एक सैन्य अदालतले गोन्जालो र उनका सहयोगी एलिना इपारागुरीलाई आजीवन काराबासको सजाय सुनाएको थियो।
उनको पक्राउसँगै पेरुको माओवादी आन्दोलन पनि तितरबितर बनेको थियो। अहिले कोकिन उत्पादन हुने क्षेत्रमा केही विद्रोहीले आफ्ना गतिविधि बढाए पनि लडाकु समूह पूर्णरुपमा कमजोर बनेको छ।
माओवादबाट उत्प्रेरित गुरिल्ला समूहले जनयुद्धमार्फत पेरुको ‘बुर्जुवा प्रजातन्त्र’ समाप्त गरी कम्युनिस्ट राज्य स्थापनाको प्रयास गरेको थियो। साइनिङ पथले सुरुमा निःशस्त्र आन्दोलन सुरु गरेको थियो।
द्धन्द्ध सुरु
१२ वर्षदेखि शासन गरेको पेरूको सेनाले सन् १९८० मा प्रजातान्त्रिक निर्वाचन गर्न अनुमति दिएपछि ‘टर्निङ पोइन्ट’ आएको थियो। साइनिङ पाथले निर्वाचन बहिस्कार मात्र गरेन, कतिपय क्षेत्रमा बिथोल्ने प्रयास गर्यो।
कम्युनिष्ट शासन स्थापना गर्नु सो समूहको उद्देश्य थियो। तसर्थ, उसले प्रजातान्त्रिक निर्वाचप्रति खासै चासो देखाएन। बरु पेरुका ग्रामीण क्षेत्रलाई कब्जा गरी आफ्नो शासन चलायो र आफ्ना बिरोधीको हत्या गर्न थाल्यो।
शृंखलाबद्ध बिस्फोट र हत्याका घटनाले सन् १९८० को दशकमा सरकार यो समूहसँग झन्डै घुडाँ टेकेको थियो। तर, १९९२ गोन्जालोको पक्राउपछि समूह कमजोर बनेको थियो।