पशुपतिमा तीजका वर्तालुको भीड (फाेटाे/भिडियाे)

Breaknlinks
Breaknlinks

हरितालिका तीजको व्रत बसेका वर्तालुको बिहानैदेखि देशभरका शिवालयमा भीड लागेको छ।

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने तीज पर्वका अवसरमा आज बिहानैदेखि देशभरका शिवालयमा वर्तालुको भीड लागेको हो। विशेषगरी महिला वर्तालु सौभाग्यको प्रतीक रातो पहिरनमा सजिएर शिवालयमा पूजा आराधनाका लागि पुगेका छन्। पशुपतिनाथ मन्दिर बन्द गरिए पनि पशुपति क्षेत्रमा बिहानैदेखि महिला जम्मा हुन थालेका छन्।

मन्दिर खुलेका बेलामा जति वर्तालु पशुपति क्षेत्रमा नआएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडाले बताए। पशुपति क्षेत्र आउने महिलालाई भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर पर्व मनाउन दिइने कोषले जनाएको छ। पशुपतिनाथको मूल मन्दिर नखुले पनि पशुपति क्षेत्रमा रहेका अन्य शिवलिङ्गमा पूजा आराधनाका लागि भक्तजन जम्मा भएका हुन्।

गोठाटारबाट बिहानै पशुपति क्षेत्र आउनुभएकी शर्मिला चालिसे पशुपतिनाथको मूल मन्दिर रहेपनि अन्य शिवालयमा पूजा आराधनाका लागि आएको बताउँछिन्। मन्दिर नखुले पनि पशुपति क्षेत्रमा नआए तीजजस्तो नलाग्ने भएकाले आफू आएको उनको भनाइ छ। अन्य मन्दिर जाँदा पशुपति क्षेत्रको जस्तो खुलापनको अनुभव नहुने भक्तजनले बताएका छन्।

मूल मन्दिर नखुले पनि बाहिरबाट पशुपतिनाथको गजुर दर्शन गर्न आउने भक्तजन धेरै हुने गरेका छन्। यद्यपि पशुपति क्षेत्रमा कोरोना कालअघिको तीजको जस्तो रौनक छैन।

प्रकाशित मिति: : 2021-09-09 11:16:00

प्रतिकृया दिनुहोस्