नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सत्तापक्षमा हुँदा होस् या प्रतिपक्षमा, सधैँ चर्चाको पात्रको बनिरहेका छन्।
गत पुष ५ गतेबाट सुरु भएको एमालेभित्रको द्वन्द्धले अन्ततः पुर्णविराम पाइसकेको छ। माधव नेपालले नेकपा (एकीकृत समाजवादी) दल निर्माण गरेपछि एमालेको आन्तरिक विवादले पुर्णविराम पाएको हो।
यतिबेला केन्द्रदेखि स्थानीय तहसम्म एमाले नेता तथा कार्यकर्ताहरु विभाजित भइरहेका छन्। कोही ओलीको पक्षमा त कोही नेपालको पक्षमा।
यसैबीच एमाले अध्यक्ष ओलीले पछिल्लो समय एक सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। ओलीले पछिल्लो समय माधव नेपालको 'दाहिने हात' मानिदै आएकी रामकुमारी झाँक्रीलाई कटाक्ष गर्दै दिएकाे अभिव्यक्ति भाइरल भएको हो।
केही महिलाअघि झाँक्री एक सार्वजनिक कार्यक्रममा फरक तरिकाले प्रस्तुत भइन्। त्यतिबेला उनको राम्रो र नराम्रो टिप्पणीहरु समेत भए। उक्त कार्यक्रममा जब झाँक्री भाषण गर्न मञ्चमा पुगिन्, तब उनले आफूले लगाएको कालो ज्याकेट शरीरबाट निकाल्दै मञ्चमै फालिन्। जसमा लेखिएको थियो, प्रतिगमन। उनले आफ्नो मुखमा समेत कालो टेप लगाएर मञ्चमा पुगेकी थिइन्। उनले मुखको कालो टेप निकाल्दै पहिलो शब्द बोलिन्, 'बोल्न पाइन्छ। हामीले ल्याएको व्यवस्थामा बोल्न पाइन्छ।'
उनको त्यो भाषणले सञ्चारमाध्यममा राम्रै चर्चा पायो। उनै झाँक्रीलाई आइतबार एमाले अध्यक्ष ओलीले गतिलै जवाफ फर्काए।
ओलीले भने, 'ज्याकेट दर्शकतिर फुत्त फालेर, मास्क एकदम स्टाइलिष्ट पारामा फुत्त फालेर, आफैले लगाएको टेप फिल्मी स्टाइलमा स्वाट-स्वाट निकाल्नेहरू कहाँ गए? बोल्न पाइन्छ भन्नेहरुको सरकालाई म अहिले सोध्न चाहन्छु, अब हामी बोल्न पाइन्छ कि पाइँदैन ?'
उनले थप्दै भनेका छन्, 'देश र राष्ट्रियताबारे बोल्न पाइन्छ कि पाइँदैन।'