सुदूरपश्चिम प्रदेश सरकारका दुई मन्त्रीले मंगलबार पदबाट राजीनामा दिएका छन्। सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश शाह र अर्थ राज्यमन्त्री अर्चना गहतराजले राजीनामा दिएका हुन्।
दुवैजना एमालेबाट सरकारमा सहभागी भएका थिए। शाह एमाले संसदीय दलका नेतासमेत हुन्। माधवकुमार नेपाल समूहमा रहेका शाह र गहतराज एमालेमै रहेका छन्।
तत्कालीन एमालेबाट दुई राज्यमन्त्रीसहित सातजना सरकारमा सहभागी थिए। तर, माधवकुमार नेपालले नेकपा (एकीकृत समाजवादी) गठन गरेपछि दुईजनाले राजीनामा दिएका हुन्। पाँचजनाले नेकपा (एस) रोजेका छन् र उनीहरू सरकारमै रहेका छन्।