तीन करोडका तिज गीत, लगानी ‘बालुवामा पानी’

बाह्रखरी

नरेश फुयाँल

कोरोना संक्रमणको महामारीबीच करिब तीन करोडका तिज गीत रेकर्ड भएका छन्। १२० भन्दा धेरै गीत रेकर्ड हुँदा करिब तीन करोड रुपैयाँ लगानी भएको हो।

यो गत वर्षको भन्दा करिब ४० प्रतिशतले कम हो। गत वर्ष २०० को हाराहारीमा तिज गीत रेकर्ड भएका थिए । २०० वटा तिज गीत रेकर्ड हुँदा करिब पाँच करोड रुपैयाँ लगानी भएको थियो।

एउटा भिडियो निर्माण गर्न औसतमा करिब दुई लाख ५० हजार रुपैयाँ लगानी लाग्छ। भिडियोसहितको एउटा गीत निर्माण गर्न दुई लाख ५० हजार रुपैयाँ लाग्दा १२० वटा गीत तयार हुँदा तीन करोड लगानी हुन्छ। दुई लाख ५० हजारभन्दा धेरै लगानी गरेर भिडियो निर्माण गर्नेको संख्या पनि ठूलो छ।

अहिलेको अवस्थामा पनि यो संख्यामा गीत रेकर्ड हुनु अस्वाभाविक भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजी बताउँछन्। नहुनुपर्ने खर्च भइरहेको उनको भनाइ छ।

'लगानी मात्रै हुने अवस्था छ । लगानीको रिटन्र्स छैन, त्यसैले नहुनुपर्ने समयमा लगानी भइरहेको छ,' उनी भन्छन्, “मेला, महोत्सव हुने वातावरण छैन । लगानी फिर्ता हुने ठाउँ छैन, त्यसैले अहिले भइरहेको यो लगानी पनि ठूलो रकम हो।'

अझै कहिलेसम्म कोरोना संक्रमणको त्रास रहन्छ भन्ने निश्चित नरहेको अवस्थामा अहिलेको समय ‘पर्ख र हेर’को रहेकोमा उनको जोड छ। अस्वस्थ प्रतिस्पर्धा नै धेरै संख्यामा गीत रेकर्ड गर्नुको मुख्य कारण भएको रमेश बताउँछन्।

प्रकाशित मिति: : 2021-09-07 12:16:00

प्रतिकृया दिनुहोस्