‘लौन, के भो मेरा आँखा ?’ आमाको करिब–करिब कहालिएको आवाजले झसङ्ग भएर बिउँझियो ऊ। जुरुक्क उठ्यो, घडीसमेत हेरेन र आमा भएको ठाउँतफ लम्कियो।
सुत्ने खाटमा आमा थिइनन्, भुइँमा थिइन् र उठ्न खोज्दै आँखा मिच्दै थिइन्। आमाको छेउमा पुग्दा पो आभास भयो उसलाई, उज्यालो त्यति खुलिसकेको थिएन।
'लड्नुभयो कि क्या हो आमा ?’ आमालाई बिस्तारै उठायो उसले। उसको प्रश्नको जवाफ आएन आमाबाट, बरु उनको आवाज उस्तै अत्तालिएको थियो, ‘राति सुत्दासम्म ठीकै थियो। अहिले उठ्दा त रिमरिम रिमरिम मात्रै पो छ त मेरा आँखा!' ‘अलिक अँध्यारै छ नि आमा! उज्यालो भइसकेको छैन। अँध्यारोमा कहाँ देखिन्छ त ?’ यतिञ्जेल, उसको सहयोगमा आफ्ना दुवै हात टेकेर आमा उठ्दै बोलिन्– ‘यहाँ कता खुट्टा अल्झेछ, पछारिइहालेँ त !' उसले आमाको शिरमा यसो हात सहलायो, ‘‘ठोक्किन त ठोक्केन आमा तपाईंलाई ?’
‘के भनेको तैँले ?’ उसले मुख चलाएको जस्तो मात्रै भान भयो आमालाई। शायद राम्रोसँग बुझिनन् उसको कुरो, उसले ठान्यो। आमा कम सुन्नुहुन्छ, यसबाट ऊ भलिभाँती परिचित थियो। बडबडाउन लागिन्– ‘हे भगवान् ! कस्तो सराप दियौ मलाई ? के भो मेरा आँखालाई ?’
‘कहिलेकाहीँ यस्तो हुन्छ नि आमा ! अलिक उज्यालो होस्, देखिहाल्नु हुन्छ नि ! हिँड्नुस् भित्रै !’ डोयाउन लाग्यो उसले असीको उमेर काटिसकेकी आमालाई। एउटा कठपुतलीझैँ डोरिँदै गइन् उनी। खाटमा बसाउनासाथ बोलिन्– ‘हेरिदे त बाबु, केही भाको छ कि आँखामा !’
उसले आमाका आँखामा नियालेर हे¥यो। रसिला थिए दुवै आँखा । आँखामा के भएको ? कसरी जान्नु ! डाक्टर भए पो आफू !
आँखा च्यातेर हेयो। खोइ, के देखिनु ? तैपनि जानी–नजानी भन्यो– ‘‘पख्नुस्, पख्नुस्, म फुक्दिन्छु।’ र, उसले एउटा आँखामा लामो फु... गरिदियो।
‘खोइ, यसमा पनि फुक्दे !' अर्को आँखा आफैँले च्यातिदिइन्। उसले त्यो आँखामा पनि त्यसरी नै लामो फु... फुक्यो। झिमझिम... झिमझिम... आमाले दुई–तीन पटक छिटो–छिटो दुवै आँखा खोल्दै–चिम्लँदै गरिन्। भएन, मज्जाले दुवै हत्केलाले आँखा मिचिन्। अहँ, बीसको उन्नाइस भएन। झन्डै–झन्डै पूरै अन्धकार...।