१८ वर्षअघि कामको सिलसिलामा मुस्लिम बाहुल्य देश अफगानिस्तान जाँदा त्यहाँको मुल्लाले महिलामाथि गर्ने व्यवहार देखेर छक्क पर्थेँ। महिलाले घर भित्रै बसिरहनुपर्ने, बाहिर काम गर्न जान नपाउने, कुनै काम परेर बाहिर जानु परेमा कुनै पुरूषलाई सँगै लिएर जानुपर्ने बाध्यता देखेर विरक्त लागेर आउँथ्यो।
यहाँका महिलाको यस्तो अवस्था देखेर नेपाली महिला हुनुमा आफूलाई गौरवान्वित महसुस गर्थेँ।
धार्मिक रूपमा अन्धा व्यक्तिले राजनीतिको गलत प्रयोग गरि कसरी महिलाको जीवनमा कष्ट थोपर्छन् भन्ने म अफगानिस्तानमा रहँदा त्यहाँको अनुभवले सिकाएको थियो। अफगानिस्तानका धार्मिक गुरूहरूले आफूले व्यभिचार गर्ने किशोरी र महिलामाथि दम गर्दै आफ्नो काम सुचारू रुपले चलिरहोस् भनेर जनतालाई र विशेष गरी महिलाहरूलाई शिक्षा र कामबाट बन्चित गर्ने गरेका थिए।
तालीवानहरू धर्मको नाममा बदमाशी गर्थे, गुण्डागर्दी गर्थे, महिलालाई बन्धनमा राख्थे। त्यो बेला तालीवानले महिलालाई दिएको पिडा सम्झेर अहिले पनि मलाई कहालीलाग्छ।
पछिल्लो समय सम्पूर्ण अफगानिस्तान पुनः एक पटक तालिवानको कब्जामा छ। पहिलेको तालीवान शासनमा त्यहाँको महिलाको अवस्था देखेको मलाई अहिलेको अवस्थाबारे कल्पना गर्दै कहाली लागेर आउँछ।
अफगानिस्तानकी चालिस वर्षीय ताहिरा शिक्षित महिला थिइन्। उनका ६ जना छोराछोरी थिए। ‘मलाई पढ्न धेरै रहर थियो। तर तालीवानले केटीलाई विद्यालय जान नदिने नियम बनाए। अनि मेरो स्कूल यात्रा रोकियो’, ताहिराले त्यतिबेला मसँग भनेकी थिइन्, ‘मेरा दश दिदी बहिनी थिए। मेरो दिदीको १२ वर्ष नपुग्दै बिहे भयो। मेरो पनि १४ वर्षमा एक युवकसँग विवाह गराएदिए तर मेरा श्रीमानले मलाई पढ्न रोकेनन्।’