प्रदेश १ का एमालेका १० सांसद् एकीकृत समाजवादीमा जाने तयारी, मुख्यमन्त्री भीम आचार्यमाथि सङ्कट 

तेजन खड्का

विराटनगर
फाइल तस्वीर
फाइल तस्वीर

नेकपा एमाले विभाजित भएर माधवकुमार नेपाल नेतृत्वमा गठित नेकपा (एकीकृत समाजवादी) मा आबद्ध हुने प्रदेश १ प्रदेशसभाका सदस्यहरु आज निर्वाचन आयोगमा जाने तयारी गरेका छन्।

यसअघि एमालेको नेपाल समूहमा लागेका १८ जनामध्ये कम्तिमा १० जनाले एकीकृत समाजवादी रोज्दै सनाखत गर्ने पार्टीका केन्द्रीय सदस्य एवं प्रदेश प्रदेश–सांसद राजेन्द्र राईले जानकारी दिए।

एमालेबाट अलग भएर गठन भएको पार्टी एकीकृत समाजवादी र जसपा फुटेर महन्थ ठाकुर नेतृत्वमा बनेको लोकतान्त्रिक समाजवादी पार्टी रोज्न सांसदहरुको लागि निर्वाचन आयोगले २२ गतेसम्मको म्याद दिएकोमा बुधबार नै सनाखतको तयारी भएको हो। मुख्यमन्त्री भीम आचार्य संकटमा पर्ने संभावना बढेको छ।

राजेन्द्र राईको नेतृत्वमा समाजवादीमा आबद्ध सांसदहरुले मंगलबार नै सनाखत गर्ने तयारी गरेको भए पनि प्रदेश १ मा सार्वजनिक विदा परेकोले सनाखतको समय एक दिन धकेलिएको हो। बाग्मती र सुदुरपश्चिमा समाजवादी रोज्ने सांसदले मंगलबार नै सनाखत गरिसकेका छन्।

यसअघि माधवकुमार नेपाल समूहमा रहेका सांसदहरुलाई रोक्न एमालेले नेपाल समूह छाडेर आएका भीमप्रसाद आचार्यलाई मुख्यमन्त्री बनाएको छ। तर, उनी मुख्यमन्त्री भए पनि नेपाल समूहले साथ नदिएपछि  पदमा टिकिरहने संभावना घटेको छ।

त्यसैले बागमती प्रदेशमा कांग्रेसका इन्द्र बानियाँलाई सघाएर प्रदेश १ मा नेकपा (एस) का राजेन्द्र राईको मुख्यमन्त्री बन्ने संभावना रहेको स्रोतको दाबी छ। नेकपा एस संसदीय दलको नेता राजेन्द्र राई बन्ने लगभग निश्चित छ।

आचार्यले मुख्यमन्त्री भएपछि नेपाल पक्षका सांसदलाई आफ्नो पक्षमा ल्याउन मन्त्री बनाउने, पार्टीमा जिम्मेवारी दिनेसहितका प्रयास गरेका छन्।

प्रदेशसभा सदस्य उपेन्द्र घिमिरेले पनि आचार्य नेतृत्वको एमाले सरकार अल्पमतमा पर्नेगरी सांसदहरुले बुधबार नेकपा समाजवादी रोज्दै सनाखत गर्ने जानकारी दिए। उनले अहिले आफूहरुसँग रहेका १० जनाले एकसाथ सनाखत गर्ने निर्णय भइसकेको जानकारी दिँदै २२ गतेसम्ममा थप सांसदहरु पनि आउने दावी गरे।

अहिलेसम्म सांसदहरु भोजपुरका राजेन्द्र राई, खोटाङका राजन राई, मोरङका उपेन्द्र घिमिरे, सावित्रा रेग्मी र कृष्णकुमारी राई, इलामकी खिनु लङ्वा लिम्बू, पाँचथरका गणेश काङ्माङ, उदयपुरकी सुनिता चौधरी, संखुवासभाकी सरिता थापा र पदमकुमारी गुरुङदले नेकपा समाजवादी रोज्ने देखिएको छ।

केहिदिनदेखि सामूहिक रुपमा बसेर छलफल गर्दै आएका उनीहरुले नयाँ दल रोज्नका लागि एक साथ विराटनगरमा रहेको निर्वाचन कार्यालयमा सनाखत गर्ने तयारी गरेका छन्।

९३ सदस्यीय प्रदेशसभामा यसअघि एमालेका ५१ जना थिए। प्रदेशसभाको बहुमतको लागि ४७ सांसद आवश्यक पर्नेमा १० सांसद समाजवादी तिर लागेपछि एमालेमा ४१ सांसद मात्र रहनेछन्।

प्रदेशसभामा अहिले नेपाली काँग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ र राप्रपाका १ सांसद छन्।

प्रकाशित मिति: : 2021-09-01 12:02:00

प्रतिकृया दिनुहोस्