कर्णाली, बुढीगंगा र सेती नदीले बनाएको टापूजस्तै लाग्छ अछाम।
अछामका बारेमा रोचक किस्साका पनि पहाडै छन् जस्तो लाग्छ।
आधिकारिक तथ्यांक दिने भरपुर कोशिसका साथ यहाँ केही किस्सा, केही तथ्य खोतल्ने प्रयास गरिएको छ।
२०१३ सालमा तत्कालीन राजा महेन्द्रको डोटीमा सवारी हुँदा केही सचेत अछामी जनताले राजाको घोडसवारीलाई रोके अरे! त्यसपछि राजासामु अछाममा सरकारी अड्डाको माग गरे। २०१४ सालको पुस-माघतिर राजाको हुकुमबाट बझाङबाट एकजना सुब्बा झिकाएर मंगलसैनमा माल अड्डा बस्यो। पछि त्यही सदरमुकाम भयो।
हुन त सदरमुकाम कहिले बयालपाटा सारियो, कहिले मंगलसैनमै छाडियो। बुढापाकाहरू भन्छन्- एक पटक त कालागाउँमा समेत पुर्याइयो।
पहिले अछामको बेग्लै अस्तित्व थिएन। कारण, आधा खण्ड अछाम दैलेख र आधा डोटी जिल्ला मातहत थियो। सिमाना कैलाशखोला। २०३२ सालपछि दुवै खण्ड जोडिएर अछाम अहिलेको स्वरूपमा पूर्ण जिल्ला बन्यो।
रोचक कुरा के भने अछामको वलीगाउँमा वली छैनन्, रावलको बाहुल्यता छ। खाती गाउँमा खाती छैनन्, भूल जाति बढी बस्छन्। कैलाशखोला मास्तिर बोगटी गाउँमा बोगटी थरका कोही छैनन्।