नयाँ सरकार गठन भएको डेढ महिना बितिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन्।
स्रोतका अनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र गठबन्धनका अन्य दलका शीर्ष नेताहरूले सरकारमा सहभागी हुने मन्त्रीको नाम दिइसकेका छन्। तर, नेकपा (एकृकित समाजवादी) निर्माण गरेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउन नसक्दा प्रधानमन्त्री देउवालाई मन्त्रिपरिषदलाई पूर्णता दिन सकस परेको हो।
त्यसो त, देउवा ज्योतिषशास्त्रमा पनि विश्वास गर्छन्। उनी बेला-बेलामा ज्योतिषलाई हात देखाएर आफ्नो राजनीतिक भविष्यबारे जानकारी लिदै आएका छन्।
देउवानिकट एक नेताका अनुसार उनले ज्योतिषलाई हात देखाएर मात्र मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय लिएका छन्। ती नेताका अनुसार देउवाले मंगलबार ज्योतिषसँग भेटेर समय साइत जुराउन लागेका हुन्।
देउवाले प्रधानमन्त्री बन्नुपूर्व पनि ज्योतिष तथा वास्तुविद सुरेश चन्द्र रिजाललाई हात हेराएका थिए। देउवाले भाेलि (साेमबार) पनि उनै ज्याेतिष रिजाललाई हात देखाएर मन्त्रिपरिषद् विस्तार गर्ने शुभ साइत जुराउँदैछन्।
गठबन्धन भित्रको भागवण्डाकाे आधारमा माधव नेपालकाे पार्टीले उपसभामुखसहित कम्तीमा पाँच मन्त्रालय पाउने पक्का भएको छ। जसमा मन्त्रीहरुको लागि विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्री र प्रेम आलेलगायतका नेताहरुको नाम अगाडि आएको छ।
माओवादीबाट पनि मन्त्रीकाे लागि नारायणकाजी श्रेष्ठ, कृष्ण बहादुर महरा, देव गुरुङ लगायतका नेताहरुको नाम चर्चामा छ। त्यस्तै कांग्रेसबाट पनि गगन थापा, मिनेन्द्र रिजाललगायतका नेताहरू पनि मन्त्री नियुक्त हुने सम्भावना छ।