जन्मिदा सबलाङ्ग र स्वस्थ थिइन्– लालु गुरूङ। छ वर्षको उमेरमा उनका लागि संसार अन्धकार भएको थियो। अँध्यारो सुरुङभित्र पुग्दा बत्ती निभेजस्तै। सामाजिक कुरीति र अन्धविश्वासले उनको दृष्टि सदाका लागि गुम्न पुगेको हो।
३६ वर्षअघि गोरखाबजारमा जन्मेकी थिइन् लालु। अहिले काठमाडौंको सुन्धारा–न्युरोड क्षेत्रको सडक किनारमा सामान फिँजाएर पसल राखिरहेकी हुन्छिन् उनी। उनका पति मित्रलाल अधिकारी पनि उनीजस्तै दृष्टिबिहीन छन्। पाल्पाका अधिकारीसँग १२ वर्षअघि घरजम भएको हो।
संसार हेर्ने दृष्टि सदाका लागि निभ्दाको ३० वर्षअघिको दुःखद् कथा उनले सुनाइन्, ‘म त्यस्तै छ वर्षकी हुँदी हुँ, आँखामा अप्ठेरो भएको महसुस भयो, दुख्यो’, उनले बताइन्, ‘आँखामा समस्या भएपछि आमाबुबाले बोक्सी लागेको भन्दै गाउँकै धामीझाँक्रीलाई देखाउनुभो।’
समय बित्दै गयो तर लालुको आँखा ठीक हुन सकेन। बिस्तारै लालुको आँखाले उज्यालो महसुस गर्न छाड्यो। सदा सर्वत्र अन्धकारको हुन थाल्यो। अन्ततः अस्पताल नदेखी उनी दृष्टिबिहीन बन्न पुगिन्।
लालुको जन्म २०४२ सालमा गोरखा सदरमुकाममा भएको हो। गाउँघरका सखी तथा भाइबहिनीहरुसँग खेल्दै रमाउँदै घाँस–दाउरा गर्दै लालुको बाल्यकाल बित्यो। लालुलाई पनि भाइ–बहिनीजस्तै साथीसँग कुदी–कुदी रमाउँदै विद्यालय जाने मन हुन्थ्यो तर उनलाई नियतिले ठगेको थियो। उनी साथीभाइजस्तो उफ्रने–कुद्ने गर्न सक्दिनथिन्। भाइबहिनीको हात समातेर उनीहरुकै सारमा विद्यालय जान्थिन्।
गाउँको स्कुलबाट एस.एल.सी. पास गरेकी उनले स्कुले उमेरदेखि नै पोखराको एफएम रेडियोबाट प्रसारण हुने कार्यक्रम सुन्थिन्। रेडियोमा कार्यक्रम सुन्दा–सुन्दै उनलाई कार्यक्रम प्रस्तोता मित्रलाल अधिकारीको आवाजले आकर्षित ग-यो। मनमनै माया बस्यो। मीठो आवाजका धनी मित्रलालसँग भट्ने इच्छा जाग्यो तर सोच्नेबित्तिकै कसरी पूरा हुनसक्थ्यो र मनोकाङ्क्षा !
एस.एल.सी. पास गरेपछि उनले पनि उज्जवल भविष्यको कल्पना गरी उच्चशिक्षाका लागि काठमाडौं जाने निधो गरिन्। उनी संभावनाको खोजीमा काठमाडौं प्रवेश गरिन् तर कहाँ सजिलो थियो र– काठमाडौंको जीवन ? सबलाङ्गका लागि त काठमाडौंको प्रतिस्पर्धाभित्र संभावना खोेज्नु सहज हुँदैन, त्यसमाथि लालु दृष्टिबिहीन ! कहाँबाट सुरु गर्ने ? के गर्ने ?
ग्रामीण जनजीवनमा हुर्केकी लालु पहिलोपल्ट ‘कंक्रिटको जङ्गल’ मा प्रवेश गरेकी थिइन्। उनलाई सुरुमा त डेरा पाउनै मुस्किल भयो। ‘आँखा छैन, ग्यास बाल्न पनि सक्दिनँ। यस्ती मान्छेले कसरी काम गरेर भाडा देली र !’, डेरा माग्न जाँदा कतिपय घरबेटीले यस्तो पनि भने।
जसोतसो बस्दै गइन्। ‘पछि बिस्तारै थाहा पाएँ– दृष्टिबिहीनका लागि काम गर्ने संस्था रहेछ। म पनि आफ्नो अधिकार खोज्नका लागि पुगेँ’, उनले भोगाइ सुनाइन्।
राजधानीमा आफूलाई टिकाउने संघर्षमा लालु पनि बिस्तारै सशक्त हुँदै गइन्। अब गोरखाको गाउँबाट आएकी लालु गरुङ्ग पुरानो चिनारीमा सीमित रहिनन्, उनले आफनो नाम परिवर्तन गरिन्। अनि भइन्– अपेक्षा गुरुङ्ग।
अपेक्षा दृष्टिबिहीनको अधिकारप्राप्ति र संरक्षणका लागि संगठित प्रयास थालिन्। उनी संस्था जान थालिन्। त्यहीँ भेट भयो– विद्यालय पढ्दै रेडियोमा सुनेको आवाजसँग उनको मिलन भयो। मित्रलाल अधिकारीसँग भेट भयो। आफूले विद्यालय पढ्दादेखि नै रुचाएको मानिससँग साक्षात्कार भयो।
मित्रलालसँग बिस्तारै भेट्घाट बढ्दै गयो। मन मिल्दै गएको महसुस दुवैमा हुन थाल्यो। अन्ततः उनीहरुले विवाह बन्धनमा बाधिए– २०६६ सालमा।
अपेक्षा र मित्रलालको मित्रता प्रेममा परिणत त भइसकेको थियो तर मित्रलालको परिवारले अपेक्षालाई स्वीकार गरेन। कतिपयले पति–पत्नी दुवै दृष्टिबिहीन भनेर पनि खिल्ली उडाए। अपेक्षाले भनिन्, ‘हामीले मन बलियो बनाइसकेका थियौँ। त्यस्ता टिप्पणीले कुनै अर्थ राखेन।’
बिहेपछि पनि समस्याले छाडेन तर उनले भनिन्, ‘पतिको दह्रो साथ र छोराको स्नेहले अहिले त जस्तोसुकै समस्या पनि केही होइन जस्तो लाग्छ।’
अपेक्षा दैनिक गुजारा चलाउन सडकका पेटीमा सामान बेच्छिन्। उनी बिहान ९ बजे सडकपेटी पुग्छिन् र साँझ छ बजे घर फर्किन्छिन्। कमाइ कहिले धेरै हुन्छ, कहिले कम। औषत कमाइ दैनिक १५ सय जति हुन्छ त्यसमध्ये दुई सय रुपैयाँ घरभाडा तिर्न फाइनान्समा जम्मा गर्छिन्।
कामलाई नै सबैथोक मान्छिन् उनी। कहिलेकाहीँ महानगरपालिकाको गाडीले सामान लैजान्छ अनि दुःिखत् बन्छिन्। ‘महानगरपालिकाले सामान लगिदिँदा नराम्रो लाग्छ। नगरपालिकाको गाडी आएपछि आँखा देख्ने त भागिहाल्छन्। प्रायः चपेटामा हामी पर्छौं’, उनले गुनासो सुनाइन्, ‘हामी बिहान काम गरेर बेलुका खानेलाई अरु विकल्प खै त ? कता जाने, के गर्ने ? महानगरले जता गए पनि सामान उठाउन आउँछ।’
अपेक्षा पति र छोराका साथ खुशी छिन् तर आफ्नो गर्भमा सन्तान हुर्किरहेको बेला अरु मान्छेले गरेको टिप्पणी सम्झिँदा उनलाई अहिले पनि दुःखी तुल्याउँछ। ‘सबैले बाउआमा त अन्धो छ, अब बच्चा पनि अन्धो त होला नि भन्ने गर्दथे तर म वास्ता गर्दिनथेँ’, उनले भनिन्, ‘मलाई पनि डर लाग्थ्यो– आफूले जन्माउन लागेको सन्तान मजस्तै पो हुन्छ कि ! भगवान पुकार्थें– मेरो सन्तान मजस्तै दृष्टिबिहीन नहोस् भनेर।’
अपेक्षा सक्षम र आत्मर्निभर नारी हुन् तर परिश्रमले उनमा आत्मविश्वास थपेको छ। अहिले आफ्ना पतिसँगै काँधमा काँध मिलाई अघि बढेकी छिन्। वाल्यकालमै गुमेको दृष्टि भने उनले फर्काउन सकेकी छैनन्।
उनी अन्धविश्वासमा विश्वास त गर्दिनन् तर आफू आजीवन अँध्यारोमा बस्नुपर्ने बाध्यता समाजमा व्याप्त अन्धविश्वासको दुष्परिणाम हो भन्ने उनले राम्ररी बुझेकी छिन्। उनले भनिन्, ‘म अन्धविश्वासकै कारण दृष्टिबिहीन भएँ तर अब कसैले पनि अन्धविश्वासका कारण आँखाको ज्योति गुमाउनु नपरोस्। म समाजमा चेतनाको बाहक बन्न चाहन्छु। दृष्टिबिहीनका अधिकारप्राप्ति, सेवा र सहयोगमा आफूलाई क्रियाशील बनाउन चाहन्छु।’