नो लालपुर्जा, नो भोट

प्रत्येक व्यक्तिको वासस्थानसँग संरचनात्मक मात्र नभएर भावनात्मक सम्बन्ध पनि गाँसिएको हुन्छ । मानिसले आफ्नो शिक्षा, स्वास्थ्य, रोजगार र आत्मसम्मानलाई पायक बनाएर वासस्थान रोजेको हुन्छ । यसबाट नै व्यक्तिको पहिचान बन्दै जान्छ ।

यी सबै कुरामा पहुँच पुर्‍याउने अभिलाषा रहेको हुन्छ । फरक यति मात्र हो ओत लाग्न आयस्रोतअनुसार कोही महलमा, कोही मध्यम भवनमा त कोही लालपुर्जाविहीन छाप्रोमा बस्छन् । तर, लालपुर्जाविहीन घरमा बसोवास गर्नेलाई न्यून आय वर्गभन्दा पनि सुकुम्बासीको तक्मा जबर्जस्ती भिराइएको हुन्छ । यसरी पहिचानविहीन भएर विभिन्न स्थानमा बसोवास गर्न बाध्य छन्, न्यून आय हुने वर्ग । यो वर्गको न कुनै पहिचान छ, न सरकारी अड्डामा भरपर्दो तथ्यांक छ, न अन्य व्यक्तिले हेर्ने दृष्टिकोण नै सकारात्मक छ ।

अति दुर्गम क्षेत्रमा खानलाउनसमेत नपुग्ने जमिन त्यसमा पनि बाँदर लड्ने भिरजस्तो जमिनका कारणले वासस्थान छाड्न बाध्य भए, न्यून आय हुनेहरू । नयाँ ठाउँमा वास खोज्दै पुगेपछि उनीहरूलाई सुकुुम्बासी भनियो । तराई र पहाडका कतिपय ठाउँमा बाढी र पहिरोले क्षति गरेको घटना सानै हुँदा सुन्थ्यौँ हामी । न्यून आयस्रोतमा जीवन चलाउनु, त्यसमाथि घरबारी पनि बाढी र पहिरोले लैजानु सुन्दै कहाली लाग्ने यस्ता घटना लाखौँ नेपालीले युगौँदेखि भोगिरहेका छन् ।

कतिपय परिवारको मालपोतको ढड्डामा मात्रै आफ्नो नाममा जग्गा हुन्छ, तर वास्तविकतामा त्यो जग्गा उपभोग गर्न कहिल्यै पाउँदैनन्, अनि उनीहरू सुकुम्बासीको बिल्ला भिर्न बाध्य हुन्छन् । विसं. १९९० को भूकम्प होस् या २०७२ को यसले पनि न्यून आय हुने वर्गलाई नै बिचल्ली बनायो । द्वन्द्वको कारणले, साहुको ऋण तिर्न नसकेर भाग्नुपरेको कारणले, जागिर र शिक्षाको खोजीमा ठाउँ छाड्नुपरेको कारणले पनि न्यून आय हुनेलाई सुकुम्बासीको बिल्ला भिराउन सघायो । 

प्रकाशित मिति: : 2021-08-28 08:49:00

प्रतिकृया दिनुहोस्