पाथीभरा याङ्वरक गाउँपालिका -१, खोक्से गाउँनिवासी ३४ वर्षीय टीकाराम गुरुङ पेशाले पर्यटन क्षेत्रका 'किचन हेल्पर' (कुक) हुन्। कोरोना महामारीका कारण सबै व्यापार व्यवसाय बन्द भयो। पर्यटन क्षेत्र अछुत रहने कुरै भएन।
गत साल पर्यटकीय सिजनको मुखमा आएर कोरोना संक्रमण विश्वभरि फैलिएसँगै सङ्क्रमण नियन्त्रण र जोखिम रोक्न गत साल २०७६ चैत्रदेखि सरकारले लकडाउन र प्रतिबन्ध लगाएको थियो।
लकडाउन लम्बिँदै गयो। पर्यटकको आगमन पूर्ण रुपमा बन्द भयो। पर्यटन व्यवसाय थप्प भएदेखि हजारौँ पर्यटन मजदुर रोजगारबिहीन हुन पुग्यो।यही अन्योलतामा उनी भने होटल सञ्चालनको तर्खरमा लागे। खोक्से गाउँबाट पत्नी र छोरा-छोरी लिएर काठमाडौं हानिए। गत साल असोजदेखि धुम्बाराही चोकनजिकै 'ताप्लेजुङ पाथिभारा गेस्ट हाउस' सञ्चालनमा ल्याएका छन्। होटलमा सर्वसुलभ मूल्यमा खानपिन र बासको सुविधा छ। तोङ्बा र बङ्गुरको परिकार मीठो पाइन्छ।
पूर्वी नेपालको हिमाली जिल्ला ताप्लेजुङको पाथीभरा देवीको काखमा अवस्थित खोक्से गाउँ अधिकांश गुरुङ समुदायको बसोबास रहेको दुर्गम गाउँ हो। २२ वर्ष अल्लारे उमेरमा टीकाराम गुरुङले पर्यटन क्षेत्रमा पाइला राखे।
उनी कसरी यो क्षेत्रमा लागे त ? उनका दाजु कुमार गुरुङ पहिलेदेखि नै पर्यटनमा 'एक्स्पिडिसन कुक' को काम गर्थे। उनकै पदचाप पहिल्याउँदै 'किचन हेल्पर'को रुपमा यो क्षेत्रमा छिरेको उनी बताउँछन्।
उनको पहिलो पर्यटन यात्रा थियो– सोलुखुम्बु, आम्फुलाप्चा, मेरा पिक र आइलेण्ड पिकमा 'किचन हेल्पर' को रुपमा। दोस्रो पटक एभरेस्ट आधार शिविर र 'आइल्याण्ड पिक' पुगे। त्यसपछि प्रत्येक वर्ष उनी नेपालको 'एक्सपिडिसन ट्रिप' मा पर्यटकसँगै किचन हेल्परको रुपमा अनगन्ती चोटी हिँडिरहे।
उनको पर्यटन मजदुरको यात्रा त्यसपछि कहिल्यै पनि रोकिएन। हरेक सिजन प्राय: एक्स्पिडिसन ट्रीपमा विदेशी पर्यटकको हुलमा हिमालतिर लागिरहे।
'सन २०१५ मा भूकम्प गयो र २०२० मा कोरोना भाइरसले पर्यटन रोकियो,' उनी सम्झिन्छन्। भूकम्पले एक सिजन मात्रै असर गर्यो। अर्को सिजन त पर्यटन क्षेत्र सुचारु भइहाल्यो। 'यसपल्ट कोरोना भाइरस सङ्क्रमण त वर्ष दिन काटिसक्यो, अब कहिलेसम्म साम्य हुने हो कुन्नि?' उनी अन्यौल हुँदै बताउँछन्।
गत साल कोरोनाको कारण लकडाउन सुरु हुनुअघि उनी कार्यरत कम्पनीमा 'एभरेस्ट एक्सपिडिसन' लागि बुकिङ थियो। उक्त यात्रामा जानलाई उनी तर्खर गर्दै थिए। सन् २०२० को सुरुवातसँगै अचानक कोरोना सङ्क्रमण विश्वभरि फैलियो।
चैतसम्म आइपुग्दा महामारीले विश्वभरि फैलिएपछि विभिन्न देशले लकडाउन घोषणा गरे। नेपाल सरकारले पनि कडाउन लगायो– 'स्प्रिङ सिजन'को सबै पर्यटक 'बुकिङ' रद्द भयो। लकडाउन लम्बिँदै गयो। 'स्प्रिङ सिजन' अक्टुबर-नोभेम्बरको आमाडाब्लम 'ट्रिप' पनि रद्द भएको उनी सुनाउँछन्।
सन् २०१२ देखि 'एभ्रेस्ट एक्सपिडिसन टीम' मा निरन्तर लागेका उनी कोरोना महामारीले लामो समय बेरोजगार हुन पुगे। करिब एक वर्षको पर्खाइपछि भर्खर 'स्प्रिङ सिजन' को 'एभ्रेष्ट एक्सपिडिसन' मा सोही 'एभरेस्ट एक्सपिडिसन' मा कतारको राजकुमारीसहितको टोलीमा उनी पनि समावेश भएका थिए।
टोलीमा 'किचन स्टाफ' १७ जना, शेर्पा र हिमाल गाइड ५५ - ६० जनासहित ४० जनाको हिमाल आरोही विदेशी अतिथि थिए। एकाएक आधारशिविरमा कोरोना भाइरस फैलियो। पर्यटक र केही पथप्रदर्शकसमेत कोरोना सङ्क्रमित भएर एक सातादेखि १० दिनमा हेली–रेस्क्युमा काठमाडौं फिर्ता ल्याएका थिए। उक्त यात्रामा उनी क्याम्प–३ नजिकसम्म पुगेका थिए। आफू सहभागी टीममा आठ जनाले मात्र सफल आरोहण गरेको उनले बताए।
'एक्सपिडिसन'को पूर्वतयारी दुई-तीन महिनाअघिदेखि नै हुन्छ। आरोहीहरुभन्दा एक महिनाअघि नै क्याम्प खडा गर्न एउटा टीम एभरेस्ट आधारशिविरतर्फ छुट्छ।
उक्त 'एक्सपिडिसन' का लागि उनीसहितको टीम गत फागुन २६ मा काठमाडौंबाट हिँडेको टोली छ दिनमा आधारशिविर पुगेको थियो। महिना दिनअघि २२ जना आरोही यात्रीको तयारीको गर्न 'क्याम्प सेटिङ' को लागि एभरेस्ट आधारशिविर पुगे। क्याम्पका लागि ठाउँ रोज्नेदेखि, सफा गर्ने, ढुङ्गा मिलाउने, पोखरी पुर्ने काममा करिब २० दिन खटिए– उनीहरु। क्याप्प सेटिङमा सबै स्टाफहरु मिलेर 'क्याम्प सेटिङ'मा मिलीजुली काम गर्छन्। क्याम्प तयार भएपछि हिमाल आरोही (पर्यटक)हरु काठमाडौंबाट प्रस्थान गर्छन्।
हाई पचाउन बेसक्याम्पदेखि क्याम्प-३ सम्म पुगेर उक्लिने र ओर्लिने काम हुन्छ। आधारशिविर, क्याम्प-१, क्याम्प-२ (६४०० मि) , क्याम्प-३ (७००० मिटर) सम्म अभ्यास, तालिम, एक्लिमिटिजेशनको लागि ३-५ दिनसम्म यो प्रक्रिया जारी रहन्छ। गत सालको 'स्प्रिङ सिजन'मा उनी करिब तीन महिना (९० दिन) हिमालमा खटिए, करिब ४ लाख जति कमाइ भएको उनले सुनाए।
'अब सन् २०२२ मा एभरेस्ट चढ्ने सोच छ,' कुराकानीको सिलसिलामा उनले बताए। उनको मुख्य काम 'एक्स्पिडसन ट्रिप' मा कफी, चिया, बेकरी आइटम, पास्ता, स्पाइघेती, टोस्ट, हेम्प टुना, बेकेन, ओमलेट, दाल भात बनाएर पर्यटकलाई सेवा दिने गर्छन्। एक्स्पिडिसनमा प्राय: रेडिमेड खाना हुन्छ।
वैकल्पिक रोजगारी
गत साल कोरोना महामारीले बन्द भयो। लकडाउन लम्बिँदै गयो। पर्यटन क्षेत्र पूरै ठप्प भयो। २०७६ साल चैत्रमा सरकारले लगाएको लकडाउन असोजसम्म पुग्दा केही सहज भयो। अनि लगत्तै उनले धुम्बाराहीमा एउटा होटल खोले।
गाउँमा रहेका छोराछोरीलाई राजधानीमै राखेर पढाउने उनको इच्छा पहिलादेखिकै थियो। महामारीको मौका छोपी पत्नी–छोराछोरीलाई यतै ल्याए। आजकल पत्नीले होटल सञ्चालनमा सहयोग गर्छिन्। छोराछोरी भने अनलाइन क्लासमा पढ्छन। धुम्बाराहीस्थित उनको ताप्लेजुङ पाथीभारा गेस्ट हाउस ठीकठाक चलेको छ। पर्यटन क्षेत्र बन्द छ। अरु रोजगारी केही छैन। त्यसैले वैकल्पिक रोजगारी खोज्न बाध्य भएको उनले सुनाए।
पहिलाको होटलवालाले छाडेको खाली लजलाई १६-१७ लाख खर्च गरेर मर्मत सम्भार गरे। अनि पुनःसञ्चालनमा ल्याए। जम्मा ११ कोठाको होटल, दुई कोठामा आफैँ बस्छन्। ९ वटा कोठा लजको लागि प्रयोग गर्छन्। मासिक ७० हजार रुपैयाँ तिर्छन्– घरभाडा। होटल व्यवसायबाट सन्तुष्ट छन्। 'सबै परिवार सँगै बस्न पाइएको छ। दम्पती मिलिजुली होटल चलाएका छौँ, छोरी छोरी अनलाइन क्लास लिन्छन्', उनको मुहारमा सन्तुष्टिको भाव झल्कने मन्दमुस्कान देखियो।
सरकारी बेवास्ता
यत्रो ठूलो महमारीमा हजारौँ पर्यटन मजदुरहरु बेरोजगार भएका छन्। पर्यटन मजदुरहरुले तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईसमक्ष केही माग राखेका थिए। मन्त्रीज्यूले माग सम्बोधन गरिदिने आश्वासन त दिए तर तत्कालै उनी पदबाट बिदा भए। सन् २०१२–०१५ सम्म उनले 'माउन्टेन मेड्नेस' ट्रेकिङ कम्पनीमा 'किचन हेल्पर' को रुपमा काम गरेका थिए। त्यसपछि हालसम्म 'ट्याग नेपाल' मा आवद्ध छन्।
२०७२ सालको भूकम्पका बेला कम्पनीले ३० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको उनले बताए। फेरि कोरोना महामामरीका बेला उनको कम्पनीले ३० हजार रुपैयाँ राहत स्वरुप दिएकोमा कृतघ्न छन् उनी। नेपालको अर्थतन्त्रमा पर्यटनले ठूलो टेवा पुर्याएको छ। विदेशी रेमिटेन्सले नै मुलुक धानेको छ।
कुल्लीदेखि गाइड, भरियाजस्ता हजारौँ पर्यटन मजदुरले रोजगार दिलाएको पर्यटन क्षेत्र अहिले सङ्कटमा छ। सरकारले अहिलेसम्म मजदुरहरुलाई राहतको कुनै प्याकेज ल्याएको छैन। कानमा बतास लागेको छैन। त्यसैमा उनको चित्त दुखाइ छ। उनी पर्यटन क्षेत्र पुनः 'बुम' हुनेमा आशावादी छन्।
'कोरोना सधैँ रहिरहँदैन। कोरोना भनेर सधैँ डराएर पनि चल्दैन रहेछ जिन्दगी। केही न केही त गरेर गुजारा त गर्नैपर्यो', उनले आशावादी हुँदै भने। पर्यटन क्षेत्र पुनः लयमा फर्किएमा सन २०२१ को 'स्प्रिङ सिजन' मा उनको एभरेस्ट चढ्ने योजना पनि उत्साहित हुँदै सुनाए। कोरोना महामारी छिट्टै साम्य होस्। पर्यटन क्षेत्र पुनः लयमा फर्कियोस्। गुरुङको सगरमाथा शिखर चुम्ने सपना पूरा होस्। शुभकामना !