माओवादीकाे प्रवक्तामा महरा, घर्तीले पाइन् प्रदेश अध्यक्ष, अन्य नेताहरूकाे यस्ताे छ जिम्मेवारी ?

नेकपा माओवादी केन्द्रले पार्टी प्रवक्ताको जिम्मेवारी पूर्वसभामुख कृष्णबहादुर महरालाई दिएको छ।

पार्टीमा पछिल्लो समय प्रवक्ताको जिम्मेवारी नारायणकाजी श्रेष्ठले सम्हालिरहेका थिए। फागुन २३ मा सर्वोच्च अदालतले एमाले र माओवादीलाई पुनः ब्युँताएपछि पार्टी  प्रवक्ताको जिम्मेवारी नारायणकाजी श्रेष्ठले सम्हालिरहेका थिए।

तर पछिल्लो समय भने उनले आफू यो जिम्मेवारीबाट टाढा हुन चाहेको बताउँदै आएका थिए। यससँगै माओवादीले प्रवक्ताको जिम्मेवारी महरालाई दिएको हो।

माओवादीले प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी पनि महरालाई नै दिएको छ। त्यस्तै माओवादीले प्रदेश समिति, पार्टी विभाग, जिल्ला ईञ्चार्जहरूसमेत तोकेको छ।

प्रदेश १ मा सुरेन्द्र कार्की ईञ्चार्ज तोकिएका छन् भने अध्यक्षमा सुरेन्द्रकुमार राईलाई तोकिएको छ।

प्रदेश २ को ईञ्चार्जमा गणेश शाह छन्। अध्यक्ष भने तोकिएको छैन। बागमती प्रदेशको ईञ्चार्जमा हितमान शाक्य र अध्यक्षमा नारायण दाहाल छन्। गण्डकी प्रदेश ईञ्चार्जमा हितराज पाण्डे र अध्यक्षमा हरि अधिकारीलाई तोकिएको छ। साथै लुम्बिनीको ईञ्चार्जमा चक्रपाणी खनाल बलदेव र अध्यक्षको जिम्मेवारी ओनसरी घर्तीले पाएकी छिन्।

कर्णालीमा ईञ्चार्ज शक्ति बस्नेत र अध्यक्ष राजकुमार शर्मा छन् भने सुदूरपश्चिम प्रदेश ईञ्चार्जमा खगराज भट्ट छन्। यहाँ पनि अध्यक्ष तोकिएको छैन।

माओवादीले विशेष समिति ईञ्चार्जमा लिलामणि पोखरेल र अध्यक्षमा लेखनाथ न्यौपानेलाई तोकेको छ। प्रवास समिति ईञ्चार्जमा नारायणकाजी श्रेष्ठ र अध्यक्षमा ओम शर्मालाई जिम्मेवारी दिइएको छ।

अर्थ तथा योजना विभाग प्रमुखमा वर्षमान पुन, कृषि तथा भूमिसुधार प्रमुखमा हरिबोल गजुरेल, निर्वाचन विभागमा खिमलाल देवकोटा, विदेश मामला विभागमा सुरेन्द्र कार्की, संगठन विभाग प्रमुखमा जनार्दन शर्मा, राष्ट्रिय सुरक्षा विभागमा कृष्णबहादुर महरा नै छन्।

स्वास्थ्य विभागमा कल्पना धमला, स्कुल विभाग ईञ्चार्जमा प्रचण्ड र प्रमुखमा गिरिराजमणि पोखरेल छन्। सहरी विकास विभागमा देवेन्द्र पौडेल, स्थानीय तह विभागमा उर्मिला अर्याल छिन्। भौतिक पूर्वाधार विभागमा हरि अधिकारी प्रमुख तोकिएका छन्।
 

प्रकाशित मिति: : 2021-08-25 07:39:00

प्रतिकृया दिनुहोस्