एमालेकाे निर्णय: १० बुँदे सहमति कार्यान्वयन, मंसिरमा महाधिवेशन (भिडियाेसहित)

नेकपा एमालेले एकताकाे लागि गठित कार्यदलले तयार पारेकाे १० बुँदे सहमतिलाई कार्यन्वयन गर्ने निर्णय गरेकाे छ।

मंगलबार ललितपुरकाे तुलसिलाल प्रतिष्ठानमा बसेकाे स्थायी कमिटी बैठकले १० बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय गरेकाे हाे।

बैठकले मंसिर १० देखि १२ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप कुमार ज्ञवालीले जानकारी दिएका छन्।

यस्तै एमालेले विधान अधिवेशन असोज ४, ५ र ६ गते गर्नेछ। बैठकमा माधव नेपाल पक्ष भनेर चिनिएपछि नेपालले पार्टी फुटाउँदा त्यतातिर नलागेका स्थायी कमिटी सदस्यहरुको पनि सहभागिता रहेको थियो।



'लाज नमानी मूल घरमा फर्किनुहाेस्'

नेकपा एमालेको स्थायी कमिटी बैठकले विभाजित भएर गएको माधव समूहलाई पार्टीमा फर्किन आह्वान गरेको छ।

मंगलबार च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको बैठकले विभाजनकारी गतिविधि त्यागेर पार्टीमा फर्किए स्वागत गर्ने निर्णय गरेकाे हाे।

बैठककाे निष्कर्षसहितकाे प्रस्तावमा भनिएको छ, ‘एमालेबाट विभाजित भएर अलग्गै पार्टी दर्ता गर्ने प्रयास गरिहेका कामरेडहरुलाई हामी आग्रह गछाैँ। मुलुकका सामु उपस्थित असाधारण सम्भावना र अकल्पनीय चुनौतिप्रति संवेदनशील हुँदै पार्टीको काँधमा उपस्थित अभिभाराप्रति सचेत रहँदै गलत र हानिकारक बाटो छाडेर लाज नमानी पार्टी एकतामा आवद्ध हुनुहोस्, आफ्नो मुलघरमा फर्किनुहोस्।’

स्थायी कमिटी बैठकले गरेका आठ वटा निर्णय यसप्रकार छन्-

१) पार्टीको पक्षमा रहेका क्रियशील हुने केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश समन्वय कमिटी र जिल्ला कमिटीलगायत सबै तहका पार्टी कमिटी र जनसंगठनका सबै तहका पदाधिकारी र सदस्यहरुलाई २०७५ जेठ २ गते पूर्वको जिम्मेवारीमा क्रियाशील हुन निर्देशन दिने। १० बुँदे प्रस्तावलाई सन्दर्भ सामग्रीको रुपमा मातहत कमिटी तथा पार्टी सदस्यहरुसमक्ष प्रेषित गर्ने।

२) १० बुँदे प्रस्ताव कार्यान्वयनका क्रममा उत्पन्न हुनसक्ने समस्याहरु समाधान गर्न केन्द्रीय कमिटीले १० प्रतिशत मनोनयन गर्ने सुझाव दिएको छ। ती सदस्यहरु मनोनयन गर्न र केन्द्रीय निकाय तथा विभागहरुलाई पूर्णता दिन र आवश्यकता अनुरुप पुनर्गठन गर्ने गृहकार्य गर्न एउटा कार्यदल बनाइएको छ। कार्यदलमा ईश्वर पोखरेल, भीम रावल, विष्णु पौडेल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र लेखराज भट्ट रहनेछ।

३)  २०७५ जेठ २ गतेको पार्टी सदस्यतालाई आधार मानेर पार्टी सदस्यता नवीकरण अगाडि बढाइनेछ। नवीकरणको क्रममा एकीकरणको क्रममा आबद्ध भएका सदस्यहरुको पनि नवीकरण गरिनेछ। र, २०७५ जेठ ३ गतेपछि दिइएका पार्टीका नयाँ सदस्यहरुको पनि नवीकरण २०७८ असोज सम्पन्न गर्ने निर्णय बैठकले गरेको छ।

४) पार्टीको विधान महाधिवेशन यही असोज ४, ५, ६ गते काठमाडौंमा गर्ने। र, पार्टीको दशौं राष्ट्रिय महाधिवेशन २०७८ मंसिर १०, ११ र १२ गते काठमाडौंमा आयोजना गर्ने निर्णय गरिएको छ। विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रस्तावहरु उपर छलफल गर्न २०७८ भदौ २५ र २६ गते स्थायी कमिटी, २७ र २८ गते केन्द्रीय कमिटी बैठकसमेत आयोजना गरिनेछ।

५) पार्टीका स्थानीय कमिटीहरुलाई व्यवस्थित गर्ने सन्दर्भमा देशैभरि २०७८ कात्तिक ६ गते वडा अधिवेशनहरु (एकैचोटी एकै दिन) र कात्तिक ९ गते पालिका वा सो सरहका कमिटीहरुको अधिवेशन गरिनेछ।

६) यो पार्टी एकताको र यो पछिल्लो हाम्रो निर्णयको सन्देश सम्प्रेषित गर्नका लागि २०७८ भदौ १६ देखि २० गते सम्म केन्द्रीय प्रशिक्षकहरुको उपस्थितिमा सबै जिल्लाहरुमा जिल्ला कार्यकर्ता भेलाहरु र जनसंगठनको केन्द्रीय कार्यकर्ता भेलाहरु आयोजना गरिनेछ।

७) पार्टी केन्द्रीय कमिटीको बैठक २०७८ भदौ १० गते काठमाडौंमा आयोजना हुनेछ।

८) यस लगायतका अन्य निर्णयहरु र यस बीचमा हामीले गरेका निर्णयहरु र यसको दूरगामी प्रभाव र समसामयिक राजनीतिक स्थितिको बारेमा पार्टीका दृष्टिकोणहरु प्रस्ट पार्न भोलि पार्टी अध्यक्षलगायत जिम्मेवार नेताहरुको उपस्थितिमा तुल्सीलाल स्मृति प्रतिष्ठानमा ११ बजे पत्रकार सम्मेलन गर्ने निर्णय पनि गरेको छ।

प्रकाशित मिति: : 2021-08-24 21:12:00

प्रतिकृया दिनुहोस्