बुढेसकालमा त सहारा बन्नु नै थियो। परिवार र समाजकै लागि केही गर्लान् भनेर छोरालाई पढाउन र छोरीको बिहेवारीका लागि धनुषाका रामनरेश राय कतार कमाउन गएका थिए।
उनी नफर्किदै १३ वर्षकै उमेरमा उनका एक्ला छोरा दीलिप यादव संसार छोडेर गए। अधिकारका लागि भन्दै चर्किएको मधेस आन्दोलनको क्रममा लक्ष्मीनियाँ गाउँपालिका-१ अरेरबाका दिलिपको २५ भदौ २०७२ मा प्रहरीको गोली लागेर मृत्यु भएको थियो।
उनले छोरा गुमाएको ६ वर्ष पुग्न आँट्यो। रामनरेश र उनकी पत्नी रानीवतीको मन, मुटुमा घाउ भने ताजै छ। छोराको प्रसंग कोट्याउनसाथ दुबैजना भक्कानिन्छन्।
छोरा गुमाएको भन्दा बढ्ता पीडा उनीहरूलाई छ- जेका लागि सहादत दिए न त्यो अधिकार पाइयो न उद्देश्य पूरा भयो।
‘आन्दोलनमा राखिएका कति माग पूरा भए? मजस्ता कतिले छोरा गुमाए तर त्यसले जनताले के पाए? नेताहरूले कुर्सीमात्र पाए,’ रामनरेशले भने, ‘मेयर, मन्त्री, मुख्यमन्त्री बने। करोडौं कमाए तर सहिद परिवार कसरी बाँचेका छन्, कति पीडामा छन् कसैले देखेनन्।’
अधिकारका लागि लडेका सहिदको बलिदानी खेर गएको उनको बुझाइ छ।
‘पदकै लागि यिनीहरूले यति ठूलो आन्दोलन चर्काए। यिनीहरूकै उक्साहटमा आएर गरिब जनता ज्यान दिन तयार भए तर यिनीहरूलाई आफू र आफन्तबाहेक कसैको चिन्ता छैन। बलिदानी सत्तामा पुग्ने भर्याङमात्र बन्यो,’ उनले भने।