प्रतिनिधिसभाको विकास समितिका सदस्य रहेका कांग्रेस नेता जीपछिरिङ लामाको तस्विर म्याग्दीका सडकहरुमा टाँसेर कालोमोसो दलिएको छ। म्याग्दी सदरमुकाम बेनीबाट दरबाङसँग जोड्ने कच्ची सडक ठेक्का लिएको समयमा पूरा नगरेपछि यसको विरोध गर्दै यस्तो गरिएको हो।
अहिले उक्त तस्विर सामाजिक सञ्जालमा भाइरल भएको छ। ४७ करोड रुपैयाँमा बेनी-दरबाङ सडकको साढे १२ किलोमिटर सडक कालोपत्रे गर्न ठेक्का लिएको कांग्रेस केन्द्रीय सदस्य एवम् सांसद् लामा सञ्चालक रहेको लामा-समानान्तर जेभीले ठेक्का लिएर काम नगरेपछि विरोध भएको हो।
दुई पटक म्याद थपेर आधा पनि काम नभएर सास्ती खेप्नुपरेपछि स्थानीय बासिन्दा विरोधमा उत्रिएका हुन्। कोभिड-१९ सुरु हुनुभन्दा अगाडि नै सक्नुपर्ने सडक दुई पटक म्याद थपिएर पनि २०७७ असार मसान्तमै म्याद गुज्रिएको हो।