नुवाकोटको शिवपुरी गाउँपालिकाकी ६५ वर्षीया ठूली रानामगर काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु अस्पताल) मा दुई सातादेखि उपचार गराइरहेकी छिन्।
कोरोना भाइरस सङ्क्रमित उनी ज्वरो आउने, खाना नरुच्ने समस्या भएपछि अस्पताल आएकी थिइन्। अस्पताल आएपछि कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको उनका छोरा अर्जुन रानामगरले बताए। ‘आमालाई ज्वरो आयो, लक्षण पनि सामान्यभन्दा अलि फरक लाग्न थाल्यो। अनि जचाउन नुवाकोटबाट काठमाडौँको अस्पतालमा ल्याएँ’, उनले भने, ‘अस्पतालमा पीसीआर परीक्षणपछि थाहा भो– आमालाई त कोरोना पो लागेको रहेछ।’
करिब दुई सातादेखि अस्पतालमा कुरुवा बसेका उनलाई आमा निको पारेर घर लैजान हतार भइसकेको छ। ‘अस्पताल बस्न थालेपछि आफैँ बिरामीजस्तो भएजस्तो लाग्छ। फेरि कोरोना भाइरस सर्ला भन्ने डर पनि छ’, अस्पताल बसाइले थाकिसकेका छन् उनी।
‘यहाँ कोरोनाबाट बच्ने सुरक्षाको व्यवस्था पनि खासै छैन। मिठो खाना त झन् कसरी पाउनु र !’, उनले भने, ‘जस्तो राम्रो भने पनि घरकै जस्तो खाना त कहाँ हुन्छ र बाहिर ?!’
अर्जुनलाई अस्पताल भर्ना गरेकी आमाको स्वास्थ्यको चिन्ता एकातिर छ भने वर्षभरि जहान–केटाकेटी पाल्ने खेतबारी र बालिनालीको पनि उत्तिकै चिन्ता छ। मौसमअनुसार फरक–फरक तरकारी फलाउने उनलाई बारीको स्याहार गर्न नभ्याएकाले खेती बिग्रियो कि भन्ने चिन्ता पनि कम छैन।
‘किसान हुँ, के गर्नु ! काम त गर्नै प-यो। काम गरिनँ भने माम पनि त मिल्दैन नि ! आमालाई निको बनाएर घर लगेपछि खेतबारीमा पनि काम गर्न थाल्छु’; उनले बिएल नेपालीसँग भने, ‘अर्जुन आफ्नो आमा चाँडो निको हुने विश्वास गर्छन्।’
अर्जुनलाई अस्पतालसँग खासै गुनासो छैन। डाक्टरहरुले राम्रो व्यवहार गरेका छन्। ‘डराउनुपर्दैन आमालाई छिट्टै निको हुन्छ भन्नुभएको छ डाक्टरले’ उनले भने, ‘त्यत्ति भएपछि मलाई के चाहियो र !’
हेटौँडाकी कोरोना सङ्क्रमित तीर्थकुमारी पाण्डे, ३९ वर्ष, पनि दुई सातादेखि टेकु अस्पतालमा उपचाररत छिन्। उनलाई कोरोना पुष्टि भएको उनका पति प्रकाश पाण्डेले जानकारी दिए।
पाण्डेले पत्नी अस्वस्थ भएपछि सुरुमा पेप्सीकोलास्थित मदरल्याण्ड अस्पतालमा लगे। चार दिन भर्ना गरे। सुरुमा केही पनि नभएको केबल कमजोरीमात्र हो भनियो तर कोरोना परीक्षण गर्दा पोजेटिभ देखियो। त्यसपछि उनी साउन २३ गतेदेखि पत्नी भर्ना गरेर टेकु अस्पतालमा छन्।
उनी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको कामसँग अत्यन्तै प्रभावित छन्। ‘कोरोनाको समयमा दिन रात नभनी काम गर्नेलाई बढी सवा सुविधा दिनुपर्छ, पाँच गुणा भत्ता थपिदिए पनि बढी हुँदैन’, उनले भने, ‘सरकारले ‘फ्रन्ट लाइन’ मा काम गर्नेलाई स्वास्थ्यकर्मीलाई तीन गुणा बढी तलब दिने भनेको छ तर पाँच सय प्रतिशतले सुविधा दिनुपर्छ।’
कोभिड–१९ का बिरामी उपचारका लागि टेकु अस्पताल उत्कृष्ट भएको उनले बताए। टेकुुमा अन्य अस्पतालभन्दा सहज छ बिरामी र कुरुवाका लागि। यहाँका कर्मचारीहरु मिलनसार भएको कुरुवाहरुको भोगाइ छ। ‘आपतकालीन सेवा र भेन्टिलेटरको व्यवस्था छ’, पाण्डेले बीएल नेपाली सेवालाई बताए।
सर्लाहीका अमर प्रजापती कोरोना स–क्रमित भएर टेकुमा उपचाररत अर्का बिरामी हुन्। उनका बाबु रामबली पण्डितले बताएअनुसार, उनको भेन्टिलेरमा राखेर उपचार भइरहेको छ। उनले निजी अस्पतालले दुव्र्यवहार गरेका कारण आफ्नो छोराको दूरावस्था भएको बताए।
राकबलीका अनुसार, उनका छोरा अमरले काठमाडौंको के.एम.सी. अस्पतालमा कोरोनाको परीक्षण गराएका रहेछन्। रिर्पोट पोजेटिभ देखियो। त्यसपछि उनलाई फोन गयो अनि हतार–हतार काठमाडौँ आए।
‘अस्पतालले हाम्रोमा बेड खाली छैन, तपाईंको बिरामी अन्तै लैजानुस् भन्यो, अनि टेकु लिएर आएँ’, उनले भने, ‘यहा आउँदा पनि के हो कस्तो हो, फेरि यहाँबाट पनि लैजानुस् भनेमा कता लाने भन्ने चिन्ता थियो तर यहाँ सबै राम्रो रहेछ।’
रामबली पण्डितको भोगाइमा शुक्रराज अस्पतालको व्यवस्था राम्रो भएको बताउँछन्। ‘यहाँको भीडअनुसार अस्पतालले राम्रो व्यवस्थापन गरेको छ। सरसफाइ पनि राम्रो छ। बिरामीलाई गर्ने व्यवहार राम्रो लाग्यो’, रामबलीले भने, ‘डाक्टरहरुले आतिनु हुँदैन, सब बिस्तारै ठीक हुुन्छ भन्नुहुन्छ। मलाई सबै कुुरा राम्रो लागेको छ।’
अर्का कोरोना संक्रमित बिरामी हुन्– चन्द्रबहादुर श्रेष्ठ। चन्द«को पनि उस्तै समस्या रहेको छ। निजी अस्पतालबाट नराम्रो व्यवहार भोगेको उनका भाइ खड्गबहादुर बताउँछन्।
‘दाइलाई एक दिनअघि झाडापखाला लागेर चाबहिलको हेल्पिङ ह्यान्ड अस्पतालमा लगेका थियौँ, त्यहाँ कोरोनाको रिर्पोट पोजेटिभ देखायो। त्यसपछि बेड खाली नभएको भन्दै बिरामी अर्को ठाउँमा लैजान भन्यो। अनि यहाँ लिएर आएँ’, उनले भने, ‘यस अस्पतालमा भने राम्रो व्यवहार छ , आत्तिनु हुन्न दाजुलाई छिटै निको हुन्छ भन्नु हुन्छ।’