बिहान सबेर निस्केर साँझ अबेर कोठा पुगेर ज्यानलाई आराम दिन नभ्याउँदै आउने आमाको फोन र जाँगररहित कुराकानीसँगै आमाको सुझाव 'छोड्दे हौ त्यस्तो जागिर्' ले दिनभर उत्साहसँग गरिएको काम पखालेर लागिदिन्छन् मेरा। र म चुपचाप फोन राखेर मौन बस्छु अनि त्यो मौनतालाई कुनै एक विद्यार्थीको फोनले चिरिदिन्छ 'म्याम एमएस टिम्स् को पासवर्ड नै बिर्सेँ खुल्दै खुलेन के गर्ने होला ?'
म यो बन्छु भनेर कहिल्यै अगाडि बढिएन, तर जे बनियो यसमा सबै नीति-नियम पालना गरेर एक अब्बल व्यक्ति जरुर बनूँ भन्ने मनमा सधैं नै लाग्यो। यसै हिसाबले अगाडि बढियो पनि।कति रहर, कति बाध्यताले शिक्षा पेशा अंगालिसकेपछि यसैमा जीवन खोज्न र भेट्नतर्फ लागियो।
समयको माग भनौं या के, कोरोना आयो र सरल रूपले बगिरहेको मजस्ता धेरैको जिन्दगीलाई एकाएक अप्ठ्यारो बनाइदियो।
भौतिक दुनियाँबाट भर्चुअल दुनियाँमा जाँदै गर्दा निश्चय नै धेरै बाधा व्यवधान आए पनि। म आफू प्रविधिमा त्यस्तो अब्बल नरहे पनि थोर बहुत चासो राख्ने भएकोले समस्या धेरै भएनन् र भएका पनि आफैं खोज तलास गरेर समाधान गरेँ।
तर धेरै शिक्षकहरूलाई देखेँ जसलाई प्रविधि फिटिक्कै नआउने र सामान्य समस्यामा समेत आत्तिने। उहाँहरूलाई देख्दा लाग्थ्यो, जीवनमा सबै कुरा सिकिराख्न पर्ने रहेछ।