नेकपा (एमाले) बाट टाढिएका वरिष्ठ नेता माधव नेपालले नयाँ पार्टीको दर्ता प्रक्रिया पूरा हुनबित्तिकै राष्ट्रिय भेला तथा सम्मेलन गर्ने बताएका छन्।
साथै उनले नयाँ दल नेकपा (एकीकृत समाजवादी)काे दर्ता प्रक्रिया सकिएपछि केन्द्रीय कमिटीलाई पनि पूर्णता दिने पनि बताएका छन्।
सामाजिक सञ्जालमा अपील गर्दै नेता नेपालले संस्कृति एवम समृद्धिको लागि जनताकाे सहयोगको समेत अपेक्षा गरेका छन्। उनले भनेका छन्, ‘नेपाली जनताले कम्युनिष्ट पार्टी र आन्दोलन मार्फत चाहेको सँस्कृति एवम् समृद्धिको लागि सम्पूर्ण न्यायप्रेमी जनताबाट सकारात्मक सहयोगको अपेक्षा गर्दछौँ।’
वैधानिक प्रावधान अनुसार पार्टीमा महिलाहरुलाई पनि समावेश गरिने उनको भनाइ छ।
उनले थप्दै भनेका छन्, ‘हाललाई हामीले साविक नेकपा (एमाले) केन्द्रीय कमिटीमा रहनुभएका र विद्रोहको पक्षमा हस्ताक्षर गर्नुभएका कमरेडहरु, २०७५ जेष्ठ ३ गते पार्टी एकता गर्ने बेला हाम्रो तर्फबाट थपिनुभएका कमरेडहरु, पहिले नै केन्द्रीय कमिटीमा रहिसकेका कमरेडहरु, संघीय संसदका सांसद कमरेडहरु एवम् वैधानिक प्रावधान अनुसार पुर्याउनु पर्ने महिला कमरेडहरूलाई समावेश गरी केन्द्रीय कमिटी प्रस्ताव गरेका छौँ।’