पार्टी विभाजन गरी नयाँ पार्टी गठनका लागि निर्वाचन आयोगमा निवेदन दिएका माधवकुमार नेपाल र महन्थ ठाकुर नेतृत्वको समूहले पुरानो पार्टीकै नाममा कोष्ठ थपेर नाम राख्न दिएको निवेदन निर्वाचन आयोगले अस्वीकृत गर्ने भएको छ।
साविक एमाले र माओवादीकेन्द्र एकीकृत हुँदा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुरानो दलसँग मिलेका कारण खारेज गर्ने सर्वोच्च अदालतको फागुन २३ को फैसलाअनुसार दुवै समूहले दिएका नाम राख्न नमिल्ने भनी निर्वाचन आयोगले जानकारी दिएपछि प्रस्ताव गरिएका नाम अस्वीकृत गर्ने भएको हो।
आयोगले साविकको एउटा पार्टीको नाममा कोष्ठभित्र विशेषण झुण्ड्याएर अर्को दल दर्ता गर्न नमिल्ने जानकारी दुवै समूहलाई दिएपछि दल दर्ताका लागि पुनः निवेदन दिनुपर्ने भएको हो ।
आयोगले दिएको जानकारीअनुसार, माधवकुमार नेपाल नेतृत्वको पार्टीको नाममा नेकपा एमाले जोड्न मिल्ने छैन । एमालेका ९५ जना केन्द्रीय सदस्य आफू पक्षमा रहेको दाबी सहित नेपाल 'नेकपा एमाले समाजवादी' नामको बेग्लै दल दर्ताका लागि बुधबार निवेदन दिएका थिए । जसमध्ये प्रदीप नेपाल, भानुभक्त जैशी, सुरेन्द्र मानन्धर, नरेश खरेलसहित १० जनाभन्दा बढीले आफू 'नेकपा एमाले समाजवादी' मा नरहेको सार्वजनिक गरिसकेका छन्।
माधव नेपाल समूहका एक जना नेता डा. विजय पौडेल निर्वाचन आयोग पुगेर 'नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी' राख्न मिल्छ कि मिल्दैन भनेर आयुक्तहरुलाई सोधेर फर्किएका छन् । नेपाल समूहको नयाँ खुल्ने दलको नाम 'नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी' वा 'नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) नाममा पुन: पार्टी दर्ताका लागि निवेदन गर्ने तयारीमा सो समूह रहेको छ ।
जसपा (लोकतान्त्रिक) दर्ताका लागि निवेदन दिएका महन्थ ठाकुर नेतृत्वको जसपा समूहले पनि नयाँ नामबारे छलफल गरिरहेको छ । लोकतान्त्रिक जनता पार्टी वा लोकतान्त्रिक समाजवादी पार्टी मध्ये एक नाम राखेर निवेदन दिने संभावना छ।