नेपाल–भारत सीमा क्षेत्र १,८८० किलोमिटर लामो छ । पश्चिममा कञ्चनपुर र दार्चुलादेखि पूर्वमा झापा र पाँचथरसम्म भारतीय पक्षबाट नेपाली नागरिकमाथि दिनहुँजसो ज्यादती हुने गरेको छ । यसमध्ये थोरै घटना मात्रै सार्वजनिक जानकारीमा आउँछन् । पछिल्लो जयसिंह धामी प्रकरण त्यसको उदाहरण हो ।
बाहिर आएका यस्ता घटनामा पनि विपक्षी दलले केही दिन चर्को नारा लगाउने र सत्ता पक्ष प्रायः मौन बस्ने प्रवृत्ति देखिन्छ । विरोध गर्ने प्रतिपक्षी पनि पार्टी सरकारमा गएपछि यसबारेमा बोल्दैन । सत्तारुढ नेपाली कांग्रेसका प्रमुख सचेतक एवं गृहमन्त्री बालकृष्ण खाँण दार्चुलामा भारतको सशस्त्र सीमा बल (एसएसबी) ले तुइन काट्दा नेपाली नागरिक बेपत्ता भएको घटनामा भारतीय संलग्नताबारे अहिलेसम्म मौन छन् । यो एउटा उदाहरण मात्रै हो ।
दार्चुला घटना बाहेक नेपाल–भारतसँग सीमा जोडिएका २५ जिल्लामा दिनहुँजसो साना–ठूला यस्ता घटना भइरहन्छन् । सीमावर्ती क्षेत्रका नेपाली नागरिकले कुटपिट, लुटपाट, दुर्व्यवहार र सार्वजनिक असुरक्षा व्यहोर्नु परिरहेको हुन्छ ।
यी दृष्टान्तहरूले सीमा क्षेत्रमा बसोबास गर्ने स्थानीयले नै भारतीय पक्षसँग जुधेर देशको भूगोलको रक्षा गरिरहेको स्पष्ट हुन्छ । तर, आश्चर्यको कुरा यस्ता ज्यादतीको आधिकारिक अभिलेखसम्म पनि मुलुकसँग छैन ।
दार्चुलाको व्यास गाउँपालिका–२, मालगाउँका ३० वर्षीय जयसिंह धामी वैदेशिक रोजगारीका लागि खाडी मुलुक जाने तयारीमा थिए । काठमाडौं गएर प्रक्रिया थाल्ने भन्दै १६ साउन २०७८ मा घरबाट बिदावारी भएका उनी तीन किलोमिटर परको मालघाटबाट अघि जानै सकेनन् ।