एमाले फुटाएर संसद्मा बहुमत पुर्‍याउने देउवा–प्रचण्डको तयारी, नेपाललाई सजिलो बनाउन अधिवेशन अन्त्य गरी अध्यादेश ल्याउने गृहकार्य

माओवादीकेन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले प्रधानमन्त्री शेरबहादुर देउवासँग एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई नयाँ पार्टी गठन गर्न सहज वातावरण बनाइदिने पहल गरेका छन्।

नेपाल समूह पनि एमालेमै रहेको अवस्थामा सरकारले प्रतिनिधिसभामा कुनै पनि 'विजनेश' लैजान नसक्ने अवस्था रहेकाले संसद् अधिवेशन चाँडै अन्त्य गरी नेपाललाई पार्टी फुटाउनसक्ने परिस्थिति बनाउन लागिएको हो।

उच्च स्रोतका अनुसार, संघीय संसद्को चालू अधिवेशन यसै साता अन्त्य गरी नेपाललाई पार्टी फुटाउन सहज हुने गरी अध्यादेश जारी गर्ने तयारी अघि बढाइएको छ। माधव नेपालले पनि आफू एमालेमा नफर्कने तर आगामी चुनावमा कांग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव समूह मिलेर लड्नुपर्ने शर्त अघि सारेको स्रोतको दाबी छ।

त्यसो भएमा संसद्मा एमालेभन्दा आफू ठूलो पार्टी बन्ने नेपाल समूहको दाबी छ। एमाले नफुटेको अहिलेको प्रतिनिधिसभामा प्रधानमन्त्री देउवा अल्पमतमा छन्। ह्वीप नलाग्ने बेलामा एमालेका २२ सांसद्ले समेत विश्वासको मत दिएको भए अब उनीसँग बहुमत प्रमाणित गर्न सहज छैन।

राजनीतिक दलसम्बन्धी ऐनअनुसार पार्टी फुटाउन केन्द्रीय कार्यसमिति र संसदीय दलमा लागि ४० प्रतिशत संख्या आवश्यक पर्दछ तर यो संख्या नेता नेपालसँग छैन। पार्टी फुटाउन तयार तर सांसद् पदसमेत गुमाउन तयार नहुने उक्त समूह अहिले एमालेमै समानान्तर पार्टी गतिविधि गरेर खुम्चिएर बसेको छ।

नेकपा एमालेलाई नेता नेपालले फुटाउन नसक्दा नेपाल समूह सांसद् पद गुम्ने भयले मन्त्री बन्न समेत आँट गरेका छैनन्। देउवा सरकारसमेत अल्पमतको अवस्थाबाट गुज्रिराखेकोले नेपाल पक्षलाई समेत सहभागी गराएर मात्र मन्त्रिमण्डल विस्तार गर्न कुरेर बसेको छ। अहिले नेपाली कांग्रेससँग ६१, माओवादी केन्द्रसँग अध्यक्षसहित ४९, जनता समाजवादीसँग २० सांसद छन्।

राष्ट्रिय जनमोर्चाको तर्फबाट १ सांसद पनि यो गठबन्धनमा सामेल हुँदा विधेयक पारित गराउनुपर्ने अवस्थामा १३१ संख्या मात्र पुग्छ। अहिलेको संसदको ढाँचाअनुसार बहुमतका लागि १३६ सांसद आवश्यक पर्दछ। यो अपुग सांसदसंख्या पुर्‍याउन नेपालको नेतृत्वमा नेकपा एमाले विभाजित गर्ने तयारीमा देउवा र प्रचण्ड लागिपरेका हुन्।

प्रकाशित मिति: : 2021-08-16 13:21:00

प्रतिकृया दिनुहोस्