खोप केन्द्रको अनुगमन गरेपछि मुख्यमन्त्री कृष्णचन्द्रले भने- 'खोप केन्द्र बढाउनु, भीडभाड कम गर्नु’

मुख्यमन्त्री सचिवालय
मुख्यमन्त्री सचिवालय

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले खोप केन्द्रको अनुगमन गरेका छन्। 

कास्कीमा कोरोना भाइरसविरुद्ध खोपको दोस्रो डोज लगाइरहेका बेला उनले केहि खोप केन्द्रको अनुगमन गरेका हुन्। 

आकस्मिक अनुगमनमा पुगेका मुख्यमन्त्री पोखरेलले पोखरा वडा नम्बर ७ को रत्नचोकस्थित खोपकेन्द्र, वडा नम्बर ८ को सहरी स्वास्थ्य प्रवर्धन  केन्द्रलगायत वडा नम्बर १ को खोप केन्द्रमा निरीक्षण गरी त्यसबारे जानकारी लिएका छन्।

उनले खोप लगाउन लाइनमा बसेका सेवाग्राही, खोप लगाइसकेका व्यक्ति र स्वास्थ्यकर्मीसँग कुराकानी गरेका थिए।

अनुगमनपछि मुख्यमन्त्री पोखरेलले भीड नियन्त्रणका लागि खोप केन्द्र बढाउन र लाइन व्यवस्थित गर्न तत्काल प्रहरी संख्या बढाउन प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम र कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश थापालाई निर्देशनसमेत दिएका थिए।

खोप ढुवानीमा समस्या भएको भन्ने गुनासो आएपछि मुख्यमन्त्री पोखरेलले स्थानीयस्तरमा गाडीको प्रबन्ध गरेर पनि केन्द्रसम्म खोप ल्याउन सकिने बताएका थिए।

संघ र प्रदेश सरकारले खोप अभियानलाई प्राथमिकतामा राखेको भन्दै अब सबै उमेर समूहकालाई पुग्ने गरी खोप आउने भएकाले भीडभाड नगरीदिन आम नागरिकसमक्ष उनको अनुरोध थियो।

‘उमेर समूह अनुसार हामीले खोप वितरण गरेका छौं, बाँकी रहेको केही खोप प्राथमिकताकै आधारमा उपलब्ध गराएका छौं, हतार नगरिदिनुहोला' उनले भने, ‘देशवासीलाई खोप दिलाउने जिम्मा प्रदेश सरकारको हो।’

खोप केन्द्रको निरिक्षणमा मुखयमन्त्री पोखरेलसहित गण्डकीका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठसमेत उपस्थिति रहेको थियो। 

प्रकाशित मिति: : 2021-08-10 19:17:00

प्रतिकृया दिनुहोस्