नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापित शेरबहादुर देउवा बारम्बार सत्ता समाल्न पुग्नु, देशकै बिडम्वना भएकाे टिप्पणी गरेका छन्।
साेमबार एकाबिहानै सामाजिक सञ्जालमार्फत वरिष्ठ नेता पौडेलले समयमै पार्टी महाधिवेशन नगरी कांग्रेसलाई निर्वाचन आयोगसँग भिख माग्ने निरीह अवस्थामा पुर्याएको आरोप लगाउदै देउवाप्रति आक्रोश पोखेका छन्।
उनले वर्तमान नेतृत्वको चरम असफलता र लापरबाहीका कारण कांग्रेस महाधिवेशनमा संकट आइपरेको संकेत गरेका छन्। पार्टी विधानले चार वर्षको कार्यकाल तोकेकोमा असाधारण परिस्थिति भनेर एक वर्ष थपिएको र देशको संविधानलाई समातेर थप ६ महिना बढाइएको उल्लेख गरेका छन्।
'यहाँभन्दा वर्तमान नेतृत्वको चरम असफलता र लापरबाही अरु के हुन्छ? यो देशकै विडम्बना हो। सर्वत्र असफल व्यक्तिहरू बारम्बार सत्ता सम्हाल्न पुग्छन्,' पौडेलले भनेका छन्।