पतिको काजकिरिया गर्न आफैँ अघि सरिन् पूजा 

पतिको मृत्यु हुँदा महिलाले काजकिरियामा बस्नु पूर्वीया हिन्दु परम्परामा सामान्य मानिन्छ। तर महिलाले कोरो ढिकुरो गर्ने चलनलाई भने हाम्रो समाजले पचाइसकेको छैन।

मोरङको पथरीशनिश्चरे ३, सङ्गम चोककी २६ वर्षीया पूजा दर्जी यतिबेला आफ्ना श्रीमानको किरियामा मात्र बसेकी छैनन्। कोरो ढिकुरोको काम समेत पूजाले स्वयं गरिरहेकी छिन्।

मिर्गौला रोग पीडित २९ वर्षीय पति सुजन दर्जीको गत साउन १२ गते उपचारका क्रममा मृत्यु भयो। डेढ बर्षअघि मात्र सुजनसँग बिबाह गरेकी पूजाका छोरा–छोरी जन्मिएका छैनन्। केही वर्ष अघि सुजनकी आमाको मृत्यु हुँदा पनि बहिनीले काज किरिया गरेकी थिइन्। त्यसबेला सुजन बैदेशिक रोजगारका क्रममा मलेशिया थिए।

गाउँघरमा कोरो ढिकुरो गर्ने आफ्नो समूदायका मान्छे खोजी गर्दा नपाएपछि अन्तिममा पूजा नै काजकिरिया गर्न अघि सरेकी हुन्। उनले भनिन्, 'अर्को मानिस ल्याएर कोरामा हाल्नु भन्दा आफैँ पस्नु उत्तम ठानेर किरियामा बसिरहेको छु।'

सुजनको किरिया गराई रहेका पुरोहित तेजबहादुर बर्देवाले समेत १८ वर्ष यता पहिलोपटक महिलाबाट कोरो, ढिकुरो गरी दशगात्र किरिया गराइरहेको बताए।

सुजनको घरमा ६९ वर्षीया हजुरआमा र श्रीमती पूजा बाहेक अर्को कुनै सदस्य थिएन। गाउँघरमा कोही भेटिएन। अझ गरिब विपन्न परिवारका सदस्यको किरिया कसले पो गरिदिन्छ। स्थानीय रेणुका काफ्लेले भनिन्, ‘नहुनु मामा भन्दा कानो मामा निको’ भन्छन्। त्यसैले बुहारीलाई नै कोरो ढिकुरो गराउने निर्णयमा पुग्यौंं।'

पूर्वीय दर्शनशास्त्रमा दशगात्र किरिया पुरुष (छोरा) ले मात्र गर्नुपर्ने व्यवस्था छ। कतिपय ठाउँमा महिलालाई ढिकुरोको काम गरेको स्थानमा हेर्नसम्म दिइँदैन।

तर, पछिल्लो समय आफ्ना पतिको किरिया आफैं गर्छु भन्ने पत्नी र बुबाआमाको किरिया गर्छु भन्ने अबिवाहित छोरीलाई रोकटोक गर्न छोडिएको छ।



दुःख र पीडा जति गरिबकै घरमा मात्र !

प्रकाशित मिति: : 2021-08-06 14:05:00

प्रतिकृया दिनुहोस्