पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाठ्यक्रम बाहिरको प्रश्न निकालेको भन्दै परिक्षार्थीको आपत्ति 

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय  अस्पतालले साउन ६ गते कर्मचारीको माग गर्याे। साउन मसान्त भित्रमा पदपुर्ति गर्ने गरि मेडिकल अधिकृत र फार्मेसी सहायक पदको लागि अस्पतालले आवेदन माग गरेको थियो।

सूचना प्रकाशित भएको ७ दिन भित्रमा शैक्षिक योग्यताको प्रमाणपत्र र नागरिकताको प्रतिलिपीसहित निवेशन पेश गर्न उक्त सूचनामा भनिएको थियो। साउन १७ मा परीक्षा पनि लिइयो। तर, परीक्षा गुणस्तरहिन भएको भन्दै  परीक्षामा सामेल परिक्षार्थीहरुले बहिस्कार गर्ने चेतावनी दिएका छन्।

फार्मेसी सहायकका लागि साउन १७ मा लिइएको परीक्षामा तोकिए अनुसारको प्रश्न नआएको भन्दै उनीहरुले आपत्ति जनाएका हुन्।

परीक्षाअघि लोकसेवा ‘सेलेबस’ अनुसार प्रश्नपत्र काटिने बताइए पनि एउटै पार्टबाट ५० वटा  प्रश्न निकालिएको भन्दै परिक्षार्थीहरु विरोधमा उत्रिएका हुन्। ‘कि हामीलाई पहिल्यै जानकारी हुनु् पर्यो। यो पार्टबाट यति क्वेसन आउनुपर्छ भनेर,’ परिक्षार्थी प्रदीप पौडेलले भने, ‘होइन भने यो परीक्षा खारेज हुनुपर्छ। नत्र ‘सेलेबस’ अनुसारको प्रश्न आउनुपर्छ।’

फार्मेसी सहायक पाँचौ तहका लागि २ जना कर्मचारीको लागि आवेदन खुलाइएकोमा ६९ जनाले आवेदन दिइका थिए। जसमध्ये ५ जना अन्तर्वार्ताका लागि छनौट भएका हुन्। उनीहरुको अहिले अन्तर्वार्ता चलि रहेको छ।

फार्मेसी सहायकका परिक्षार्थी राजीव तिवारीले पोखरा स्वास्थ्य  प्रतिष्ठानका डुकबहादुर क्षेत्रीलाई ध्यानाकर्षण पत्र समेत बुझाएका छन्। ध्यानाकर्षण पत्र बुझाए पनि कुनै सुनुवाई नभएको उनले बताए।

‘डिन अफिसमा हिजो ध्यानकर्षण पत्र बुझाएको थिएँ। आज मैले सम्पर्क गर्दा उहाँले के भन्नु भयो भन्दा, हामीले निकाल्ने प्रश्न त्यस्तै हो, लोकसेवाको जस्तो हुँदैन भनेर भन्नु् भयो,’ उनले भने, ‘हाम्रो कुरा के हो भने लोकसेवा अनुसार क्वेसन आउछ भनि सकेपछि लोकसेवा अनुसार आउनुपर्याे। लोकसेवा सेलेवस अनुसार जम्मा ८ वटा क्वेसन आउनुपर्नेमा ५० वटा आएको छ।’ सबै प्रश्न एउटै युनिटबाट आएको उनले बताए। 

वस्तुगत प्रश्न फार्माक्लोजी र हस्पिटल प्रशासनको प्रश्न आउनुपर्ने उनको दाबी छ। ‘हस्पिटल फार्मेसीमा हस्पिटल फार्मेसीकै प्रश्न नआए अरु के हुन्छ?’ उनले भने।

प्रतिष्ठानले नै निर्धारित गरेको प्रश्न निकाल्ने भए लोकसेवा सेलेवस बाहिरको प्रश्न आउछ भनेर सूचनामै भन्नु पर्ने उनको भनाई छ। ‘कि त पहिले नै हाम्रो निर्धारित प्रश्न आउछ भनेर भनेको भए हुन्थ्यो। हामी त्यही वे बाट पढ्थ्यौं,’ उनले भने, ‘लोकसेवा आयोगको सेलेवस अनुसार आउछ भनेर अर्कै वे बाट क्वेसन निकालेपछि त गाह्रो भई हाल्यो नि!’

यता पश्तिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डाक्टर भरतबहादुर खत्री लोकसेवाको पनि २० प्रतिशत प्रश्न बाहिरको आउने बताउछन्। ‘लोकसेवाले पनि समय अनुसारको प्रश्न निकाल्छ नि,’ उनले भने। सबै प्रश्न सेलेवस अनुसार नहुने उनले बताए। प्रतिष्ठानले आफूहरुको प्रश्नको जवाफ नदिए आफूहरु चरणबद्ध विरोधममा उत्रिने परिक्षार्थीहरुले बताएका छन्।

प्रकाशित मिति: : 2021-08-05 17:38:00

प्रतिकृया दिनुहोस्