बेथितिको मोनोरेल : काठमाडौं महानगरमा एउटै बैठकमा तीन लाख ३९ हजारको खाजा, २१ महिनामा तीन करोड बैठक भत्ता

आर्थिक वर्ष ०७५/७६ मा झन्डै डेढ अर्ब बेरुजु रहेको काठमाडौं महानगरपालिकामा आर्थिक बेथिति झन्झन् बढ्दै

- तीन महिनामा सात बैठक :  चियाखाजामा मात्र २१ लाख खर्च
- बजेट अधिवेशन गर्दा १० लाखको खाजा

काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिले आफ्नै आर्थिक नियमको धज्जी उडाउँदै एउटै बैठकमा तीन लाख ३९ हजारको खाजा खाएका छन्। गत वर्षको २७ पुसदेखि ७ माघसम्म बसेका महानगरको आठौँ अधिवेशनका तीन बैठकमा खाजामा मात्रै आठ लाख ३६ हजार दुई सय रुपैयाँ खर्च गरिएको छ। 

महानगरले आर्थिक मितव्ययिता अपनाउने उद्देश्यसहित गत वर्षको १८ साउनमा आर्थिक नियम बनाएको थियो, जसमा महानगरको अधिवेशन र कार्यपालिका बैठकमा प्रतिव्यक्ति दुई सय ५० र अन्य बैठकमा प्रतिव्यक्ति एक सय ५० रुपैयाँभन्दा बढी चियाखाजामा खर्च गर्न नमिल्ने व्यवस्था छ। महानगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालको विशेष पहलमा नियम बनाइएको थियो। 

तर, महानगरका पदाधिकारीहरूले आफ्नै नियमविपरीत एकजनाले करिब एक हजार सात सय रुपैयाँको चियाखाजा खाएका छन्। आठौँ अधिवेशनको दोस्रो बैठकमा तीन लाख ३९ हजार (भौचर नम्बर १०९७)को चियाखाजा खर्च गरिएको छ। बैठकमा कार्यपालिकामा निर्वाचितसहित एक सय ६० जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, विषयगत विभागीय प्रमुख, बैठक सञ्चालनार्थ सहयोगी कर्मचारी र केही आगन्तुक गरी अधिकतम् दुई सयजना सहभागी थिए। यस हिसाबले एकजनाले एक हजार ६ सय ९५ रुपैयाँको चियाखाजा खाएका छन्।

प्रकाशित मिति: : 2021-08-04 10:09:00

प्रतिकृया दिनुहोस्