प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नियुक्त गर्न ऊर्जामन्त्री पम्फा भुसाललाई ठाडो निर्देशन दिएका छन्। घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न भुसाललाई निर्देशन दिएको देउवाको सचिवालयले जनाएको छ।
कुलमान घिसिङ गत वर्ष भदौमा आफ्नो चार वर्षे कार्यकाल पूरा गरी नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बाहिरिएका थिए।
उनी बाहिरिएपछि तेस्रो वरीयताका उपकार्यकारी निर्देशक लेखनाथ कोइरालालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको थियो।
त्यस्तै, मन्त्री भुसालले मंगलबार मात्र प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिएर सहयोग गर्न आग्रह गरेकी थिइन्। उनले बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाकै उपस्थितिमा कार्यकारी निर्देशक शाक्यलाई बोलाएर राजीनामा मागेकी हुन्। कार्यकारी निर्देशक शाक्यले भने केही जवाफ दिएका छैनन्।