‘नेपालमा डेढ सय वर्षयता मेलम्चीमा जस्तो लेदोसहितको बाढी आएको थिएन’

नेपाल खबर

काठमाडौं

डेढ महिनाको अन्तरमा मेलम्ची खोलमा लेदोसहित आएको बाढीको स्रोत फरकफरक भएको अधिकारीहरुले बताएका छन्। 

असार १ र २ गते तथा साउन १६ गते राति बगेको लेदोको स्रोत अलग–अलग रहेको राष्ट्रिय विपद् न्यूनीकरण प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेलले बताए। 

‘असार र साउनमा लेदोसहित आएको बाढीको मूल छुट्टाछुट्टै छ। तर दुवै बाढीले दुवैतर्फका पहाड कपेर ल्याएका छन्। कतिपय स्थानमा नदीको पिँध समेत कपेको छ,’ पोखरेलले भने।

दुवै पटक मेलम्चीको बाढीले ठूलो क्षति पुर्‍याएको छ। पोखरेलसहितको विज्ञहरुको टोली आइतबार मेलम्चीको अध्ययन भ्रमणमा गएको थियो। तर, खराब मौसमका कारण टोली पहिरोको स्रोतसम्म पुग्न सकेको थिएन। 

सुरुको स्रोत भेमाथाङ चौर र पछिल्लो गेगरनसहितको टार भएको उनले बताए। 

‘त्यो टारलाई पनि भेमाथाङ नै भन्छन्,’ उनले भने। तामाङ भाषामा भेमाथाङ भनेको बालुको टार हो। 

हेलिकोप्टरमा गएको हेलम्बु गाउँपालिकामा अध्यक्ष मिङ्मा ग्यालेन्ज शेर्पासहितको अर्को टोली भने पहिरोको स्रोतसम्म पुगेको थियो। 

सो टोलीले खिचेको पहिरोको भिडिओ र फोटोहरु सार्वजनिक गरिएको छ। त्यसमा लेदोसहितको पानी बगेको देखिन्छ भने पहाडका दुवैतर्फबाट निरन्तर रुपमा सुख्खा पहिरो गइरहेको छ। 

‘पछिल्लो पटक पहिरो गएको स्थानकै फोटो हेलम्बुको अध्यक्षसहितको टोलीले खिचेको हो,’ पोखरेलले भने, ‘तर हामीले अहिलेसम्म पहिरो गएको स्थानमा अध्ययन टोली पठाउन सकेका छैनौँ।’ 

प्रकाशित मिति: : 2021-08-03 11:50:00

प्रतिकृया दिनुहोस्