दार्चुला घटना : न कूटनीतिक पहल, न पीडितलाई क्षतिपूर्ति

सीमा क्षेत्रमा भारतीय पक्षबाट हुने गरेका दुव्र्यवहार तथा हत्या घटनामा यसअघि सरकारले भारतसँग राजनीतिक र कूटनीतिक तहमा ध्यानाकर्षण गराउने गरेको थियो । तर, दार्चुला घटना सम्बन्धमा कूटनीतिक संयन्त्रले ‘आवश्यक सक्रियता’ देखाएको छैन । कूटनीतिक मामलाका जानकारहरूले यो घटनाबारे सरकारले राजनीतिक र कूटनीतिक तहबाट भारतको ध्यानाकर्षण गराउनुपर्ने सुझाएका छन् । तर, परराष्ट्र मन्त्रालयका अधिकारीहरूले भने गृह मन्त्रालयद्वारा गठित छानबिन समितिको प्रतिवेदन आएपछि मात्रै आवश्यक पहल थाल्ने बताएका छन् । 

विगतमा यस्ता घटनामा परराष्ट्र मन्त्रालयले भारतीय राजदूतलाई बोलाएर ध्यानाकर्षण गर्ने र दिल्लीस्थित नेपाली दूतावासबाट पनि भारतीय विदेश मन्त्रालयमा ध्यानाकर्षण गराउने चलन थियो । यसपटक दार्चुला र सीमावर्ती भारतीय धार्चुलाका प्रमुख जिल्ला अधिकारीको तहमा मात्रै पत्राचार र संवादमा सीमित भएको छ । सरकारले २७ साउनसम्ममा प्रतिवेदन दिने गरी छानबिन समिति गठन गर्नुको अर्थ अब दश दिनसम्म कूटनीतिक संयन्त्र चुपचाप रहनेछ । 

शुक्रबार व्याँस गाउँपालिका– २ मालगाउँका जयसिंह धामी तुइन तरिरहेका वेला भारतीय अर्धसैनिक बल एसएसबीले डोरी फुकाइदिएपछि महाकालीमा बेपत्ता भएका थिए । एसएसबीको अमानवीय व्यवहारबाट बेपत्ता धामी दुई दिनसम्म फेला नपरेपछि परिवारका सदस्यले कुशको शव बनाएर अन्तिम संस्कार गरिसकेका छन् । पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्यको भनाइमा यस्ता घटनामा तत्कालै राजनीतिक तहमा संवाद तथा कूटनीतिक तहमा पत्राचार वा ध्यानाकर्षण गर्ने प्रचलन छ । 

प्रकाशित मिति: : 2021-08-02 11:27:00

प्रतिकृया दिनुहोस्