'माधव समूहका सांसदहरुले मन्त्री पद माग्नुभएछ, देउवाले पनि माधवजीले भनेपछि सोचौंला भनेर पठाएछन्'

यतिबेला नेकपा (एमाले)को वरिष्ठ नेता माधव नेपाल समूहभित्रै दुई मत देखिएको छ।

नेता नेपालले आइतबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल 'प्रचण्ड'सँग वार्ता गर्दै आफू तत्काल सरकारमा सहभागी हुने वातावरण नभएको बताएका छन्। तर माधव समूहकै केही सांसदहरु भने जसरी पनि सरकारमा सहभागी हुन लागेको बताउँदै आएका छन्।

माधव समूहकै सांसद मेटमणि चौधरीले सरकारमा सहभागी हुनेबारे २२ सांसदहरुको एकमत भएको र जसरी पनि सहभागी हुने बताउँदै आएका छन्।

त्यसो त, माधव समूहका केही सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई व्यक्तिगत रुपमा भेटेर मन्त्री पद मागेको पनि खुल्न आएको छ।

आइतबार बसेको माओवादी स्थायी कमिटी बैठकमा प्रचण्डले यसबारी जानकारी गराएका हुन्।

उनले भने, 'माधवजी निकै अफ्ठ्यारो अवस्थामा हुनुहुन्छ, तत्काल उहाँ सरकारमा सहभागी हुने अवस्था छैन। तर उहाँ पक्षकै केही सांसदहरु भने देउवाजीसँग व्यक्तिगत रुपमा भेटेर मन्त्री पदको आशा देखाउनु भएको रहेछ। देउवाजीले पनि माधवजीले सिफारिश गरेपछि सोचौला भनेर पठाउनु भएछ।'


'पार्टी विवादले माधवजी तनावमा हुनुहुन्छ, उहाँ सरकारमा सहभागी हुने अवस्था छैन'- प्रचण्ड

'माधव समूहसहितको सरकारको डिजाइन गरेका थियौँ, तर अब उहाँ पार्टी विवादले तत्काल सरकामा नआउने अवस्था छ। नयाँ गृहकार्य गर्नुपर्ने देखियो।', उनले भने।  

प्रकाशित मिति: : 2021-08-01 15:37:00

प्रतिकृया दिनुहोस्