टिकट नपाएर र किन्न नसकेर उड्न पाएनन् ३० हजार श्रमिक

कोरोना महामारीका कारण सरकारले सबै अन्तर्राष्ट्रिय उडान खुला गरेको छैन, सीमित उडान मात्रै हुने गरेका छन्।

त्यसको फाइदा उठाउँदै एयरलाइन्स कम्पनीहरूले हवाई भाडा अत्यन्त चर्को बनाएका छन्। जसको प्रत्यक्ष मारमा वैदेशिक रोजगारीमा जाने श्रमिक परेका छन्। टिकट नपाएर र किन्न नसकेर भिसा लागेका करिब ३० हजार श्रमिक विदेश उड्नबाट रोकिएका छन्।

वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित श्रेष्ठले विभिन्न मुलुकका लागि भिसा लगाएर तयारी अवस्थामा रहेका श्रमिक जहाजको टिकट खरिद गर्न नसकेर विदेश उड्न नपाएको बताए। उनीहरूमध्ये अधिकांश कतार र साउदी जाने रहेको उनले बताए।

सीमित उडानको फाइदा उठाउँदै एयरलाइन्स कम्पनीले ६ गुणाभन्दा बढीसम्म भाडादर कायम गरेको महासचिव श्रेष्ठको भनाइ छ। उनका अनुसार साउदीका लागि हिमालय एयरलाइन्सले एक लाख ६० हजार रुपैयाँसम्म जहाजको भाडा तोकेको छ।

त्यस्तै, कतारका लागि ६० हजारसम्म उठाउने गरिएको छ। जब कि सामान्य अवस्थामा खाडी मुलुक र मलेसियाका लागि जहाज भाडा २२ देखि २५ हजार पर्ने गर्छ। ‘एयरलाइन्स कम्पनीले अत्याचार नै हुने गरी लुट मच्चाएका छन्। यसमा सरकारी कर्मचारीसमेत सामेल छन, नत्र किन चुप लागेर बस्थे,’ उनले भने।

प्रकाशित मिति: : 2021-07-30 11:56:00

प्रतिकृया दिनुहोस्