'म यहाँ जेठ २० गते आएँ। यहाँ आएपछि मेराे अप्रेसन भयाे। अप्रेसन भइसकेपछि २८ दिन आईसियूमा बसे। आईसीयूमा डाक्टरहरुले एकदमै माया गर्नु भयाे। मेराे घाँटीकाे अप्रेसन गर्ने डाक्टरकाे नाम सराेज काफ्ले हाे। अनि आईसीयूमै मेराे दाँत पनि निकालिदिनुभयाे। मेराे दाँत निकाल्ने डाक्टरकाे नाम भुमेश काफ्ले हाे।
अरु डाक्टरहरुकाे नाम निराजन, रमेश, सन्ताेष र राधा हाे। आईसीयूपछि म 'चिल्ड्रेन वार्ड'मा गए। त्यहाँ १६ दिन बसे। त्यसपछि सर्जरी वार्डमा आएँ। पछि इन्जेक्सन रोकियाे। सर्जरी वार्डमा आएकाे आठ दिनपछि मराे घाँटीकाे घाउ सिलाइयाे। त्यसपछि मेराे तीनजना दिदीहरुसँग परिचय भयाे।'
उक्त भनाइ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५० दिनभन्दा अघि भर्ना भएर उपचार गराइरहेका जुम्लाको सिंजा, लुड्कुका केशव न्याैपानेको हो। उनले आफ्नाे अस्पताल बसाइको सार यसरी सुनाए।
१६ वर्षका भए, उनी। हाल पाेखराकाे अमर सिंह सेकेन्डरी स्कुलमा सात कक्षाका छात्र हुन्। पाेखरा पढ्दैगर्दा उनी ३५ किलाेका थिए। अहिले उनकाे ताैल घटेर २५ किलाे भएकाे छ। उनकाे शरीर लुलाे भएको छ तर मस्तिष्क भने एकदमै टाँठाे छ। उनी एक पल्ट भेटेकाे मान्छेलाई सितिमिति बिर्संदैनन्।
गत चैतमा लकडाउन भएपछि उनी सिंजास्थित घर आएका थिए। घर बसाइकाा क्रममा उनकाे दाँत 'इन्फेक्सन' भयाे। इन्फेक्सन बढ्दै घाँटीसम्म पुग्याे। अनि घाँटी सुन्नियाे। उनी खाना खान नसक्ने भए।
बिस्तारै सास फेर्न पनि गाह्राे हुन थाल्याे। नाै दिनसम्म खाना खान नसकेर साह्रै गाह्राे भएपछि उनलाई घर परिवारले प्रतिष्ठानमा उपचारका लागि लगेका थिए। आउनेबित्तिकै मुख तथा घाँटीमा 'इन्फेक्सन' भएकाे र पूरै सुन्निएकाे कारणले तत्कालै 'सर्जरी' गर्नुपर्ने थियाे। मुखबाट पाइप राख्न कठिन भएपछि घाँटीमा प्वाल पारेर त्यहीँबाट पाइप राखियो र 'भेन्टिलेटर'मा उपचार गर्नुपर्ने भयाे।
उपचारमा संलग्न डाक्टर भूमेश काफ्लेका अनुसार, यसलाई 'लुडिङ एन्जाइना' भनिन्छ। कुनै पनि मान्छेले आफ्नाे मुख तथा दाँतकाे राम्राे ख्याल नगर्दा र दाँतमा समस्या भइसकेपछि बेलैमा उपचार नगर्दा दाँतमा लागेकाे किराले सुरुमा दाँत दुख्ने र सुनिने हुन्छ। पिप बाहिर आउन नपाए पछि मुखैभरि फैलिन्छ। केशवलाई पनि त्यस्तै भएकाे रहेछ।
समयमै उपचार नगर्दा दाँतकाे जराकाे पीप घाँटीतिर गएपछि सुनिएको हो। उनले भने, 'खाना खान र सास फेर्न गाह्राे भयाे। टाइम धेरै भइसकेकाे थियाे। मुटुकाे धड्कन बढेकाे थियाे। त्यसैले उनलाई सुरुबाट नै 'भेन्टिलेटर'मा राखेर उपचार गर्नुपर्ने भयाे।'
केशवकाे उपचार सुखदायी भएन। उपचारकाे क्रममा उनकाे स्वास्थ्यमा व्यापक उतारचढाव आयाे। उनकाे मुटुकाे धड्कन दुईपटक बन्द भयाे। उनलाई दुईपटकमा चार पाँच साइकल सिपिआर (कार्डियाे पल्माेनरी रिसक्सीटेसन) गर्नुपर्याे। सिपिआर भनेकाे मुटुको धड्कन बन्द हुँदा छाती थिचेर स्वास निकाल्ने प्रयास हाे।
केही दिनअघि यूराे कपकाे बेला उत्कृष्ट फुटबलर कृष्टियन ईरिक्सनलाई खेल मैदानमै सिपिआर गरेर बचाइएकाे थियाे। सिपिआरकाे गर्दा प्राय:जसाे मान्छेकाे स्वास सँधैकाे लागि जान पनि सक्छ। यदि कसैले बेलैमा सिपिआर पाउँछ भने मान्छे चामत्कारिक रुपले बाँच्न पनि सक्छ। त्यसैले उनकाे पनि दुई–दुई पटकसम्म स्वास आयाे।
'दाेस्राे पटक त ऊ बाँच्दैन हाेला भनेर हामीले आश मारिसकेका थियाैं। त्यही अनुसार परिवारलाई खबर समेत गर्याैं। परिणाम आशाजनक छैन समेत भनियाे,' उनकाे उपचारमा संग्लग्न डा. सराेज काफ्लेले (ईएनटी) भने, 'अगाडि पनि एक पल्ट सिपिआर गर्नु परेकाे थियाे। तर पछिल्लाे पल्ट छाति थिच्दा उसकाे घाँटीबाट एक लिटरसम्म पीप र पानी आएकाे थियाे।'
यसले उनकाे परिवारलाई धेरैपल्ट बेचैन बनायाे। उनकी आमा सत्यदेवी उपाध्यायका आँसु प्रतिष्ठानकाे 'बेड' अगाडि धेरैपल्ट बगे। छाेराेकाे अवस्था देख्न नसकी उनी धेरैपल्ट बेहाेश भइन्।
'म त बेहाेश थिए। डाक्टरले छाेराे मर्न आँटेका सङ्केत दिएका थिए। नमर्दै लिएकाे भए आज छाेराकाे याे रुप देख्न पाउने थिइन,' उनले भावुक हुँदै भनिन्, 'भरी गाडीमा छाेराे ल्याएकी थिए। रित्ताे गाडी फर्किन्या थिए। डाक्टरले लैजानुस् भनेनन् तर तयारी थाल्दा हुन्छ भनेपछि त भुँइचालाे आयाजस्ताे भयाे। अहिले हाे कि पछि हाे भन्दाभन्दै छाेराे बाँच्याे।'
सत्यदेवी चिच्याइरहेकाे देखेर पूरै अस्पताल अँध्यारो भएकाे थियाे। त्यस्ताे बेला उज्यालो दियाे बनिआएका थिए दाँतका डाक्टर भुमेश काफ्ले। आफ्नै क्षेत्रका उनीहरुलाई धेरै बेर सम्झाएपछि आमाबाबुले एउटा प्रण गरे, 'छाेराे मरेपछि मात्र अन्तिम संस्कारका लागि लिउँला। अब छाेराे डा. काफ्लेकाे जिम्मामा भयाे भन्याैं।'
'हामीले आश मारेका थियौँ तर केशवको प्राण बाँकी थियो। डाक्टरले घाेषणा नगर्दासम्म त ऊ जिउँदै हाे। जिउँदै मान्छेलाई मार्ने काम गर्नु हुँदैन भनेपछि बल्ल मान्नुभयाे,' उनले भने, 'उहाँहरुले मेराे छाेराकाे घाँटी काटिदिए भन्ने खालकाे गुनासाे पनि गर्नुभयाे। त्याे त अक्सिजन दिने अन्तिम विकल्प प्रयाेग गरिएकाे कुरालाई उहाँहरुले बुझ्नुभएकाे थिएन। सबै कुरा बुझाउँदा उहाँहरुले पनि बुझ्नु भयाे। डा. काफ्ले खुशी हुँदै भन्दै थिए केशवकाे स्वास्थ्यमा चमत्कारिक परिवर्तन आयाे। यस्ताे धेरै कम मात्र हुन्छ।'
उनका अनुसार, केशवले मुखबाट स्वास फेर्न सम्भव नभएपछि घाँटीनेर स्वास नली काट्नुपरेकाे हाे। याे उपाय आपतकालीन अवस्थामा मात्र अपनाइन्छ। पीप घाँटीमा पनि रहेछ। त्यहाँबाट आयाे र दुइटा जुका पनि निकालियाे। तीन दिन जति जुकाकाे ओैषधि पनि चलाइयाे।
डा. सराेजका अनुसार, बेहाेश पार्ने बेलामा पनि निकै कठिन परेकाे थियाे। मुखबाट पाइप राख्न नसकेर घाँटीबाट (ट्र्याकियाेस्टाेमी) पाइप राखेर एनेस्थेसियाेलाेजिस्ट डा. निराजन महासेट र रमेश भट्टराईले सहयोग गरेका थिए। पछि सर्जरी र मेडिसिनकाे डाक्टर समेत उनकाे उपचारमा संलग्न भए।
'एक्सरे गरेर हेर्दा फाेक्साेसम्म इन्फेक्सन फैलिएकाे थियाे। याे पनि अगाडिको समस्या हाे वा पछि भएकाे हाे थाहा भएन,' उनले भने, 'दुवैतिरकाे छातीमा पानी थियाे। पहिला दाइनेतिर ट्युब राखियाे। पछि बायाँतिर ट्युब राख्दा पानी र पीप सँगै आयाे। घाटीकाे पीप छातीमा पुगिसकेको रहेछ।'
केशवकाे स्वास्थ्य अवस्थाले डाक्टरहरु समेत धेरैपटक आत्तिएका थिए। बीचमा मुटुको धड्कन पनि जाने, आउने भइरह्याे। अक्सिजन दिए पनि छातीले राम्राेसँग काम गर्न सकेन। स्वास नलीमा प्वाल भएर त्यहाँबाट हावा लिक भयाे।
उनलाई क्षयराेगको शङ्का गरेर त्यसको औषधि पनि चलाइयाे। पछि सर्जरी वार्डमा सारियाे। उनलाई एनजी ट्युबबाट खाना खुवाइयाे। प्रतिष्ठानका सबै जसाे डाक्टरहरुकाे टिम केशवकाे उपचारमा संलग्न हुँदा उनलाई निकाे गराउन सम्भव भयाे।
अहिले अक्सिजन पनि दिन परेकाे छैन। चाँडै उनकाे 'डिस्चार्ज' हुँदैछ। प्रतिष्ठानमा कार्डियाे थेरासिक्स सर्जन नहुँदा फाेक्साेका मेडिसिनकाे डाक्टरकाे सल्लाहमै उपचार भएको डा. सराेजले बताए।
'छातीबाट पीप आएकाे देख्दा अब बाबू बाँच्दैन भन्नेमा गइसकेका थियाैँ तर यति लामाे समय दु:ख गरेर उपचार गर्दा पनि उनलाई बचाउन सकिँदैन कि भन्ने लाग्दा म त एकदम चिन्तित भए,' उनले भने, '२०/२२ दिन भइसकेको थियो। बाबु आमालाई जानकारी दिइसकेको थियाे। म हरेक बेला अस्पतालबाट काेठा पुग्दा केशवलाई सम्झिन्थे फेरि अस्पताल आउथे र केशवलाई भेट्थे।'
उनले औषधि दिने, घाउ ड्रेसिङ गर्ने काम आफैँ गरिरहेकाे केशवकी आमाले बताइन्। हामीले भेट्दा पनि डा. सराेज भावुक थिए। उनले भने, 'बिस्तारै चमत्कारिक रुपमा उसकाे अवस्थामा सुधार आयाे। याे मेराे जिन्दगीमा घटेकाे अनाैठाे घटना हाे। उसलाई नयाँ जीवन दिन सक्दा एकदम खुशी छु।'
उनले थपे, 'केशवले नयाँ जीवन पाउनुमा नाक–कान–घाँटीसँगै डेन्टल सर्जरी, जनरल सर्जरी, एनेस्थेसिया, मेडिसिन, पेडियार्टिक्स्, फिजिओ थेरापी, नर्सहरु, पाेषण विभाग, सरसफाइ गर्ने सबै र अस्पताल प्रशासनकाे याेगदान छ।'
चानचुन एक लाख बाेकेर आएका केशवका आमाबुबालाई उपचार खर्चको अभाव भयाे। केही रकम बीमाले पनि व्यहोर्यो। यति रकम याे खालकाे उपचारका लागि निकै कम भएकाे डा. भूमेशले बताए। 'आर्थिक अवस्था कमजोर देखेपछि उपचार खर्च अस्पताल प्रशासनले पनि बेहाेर्याे,' उनले भने, '४९ दिनसम्म नेपालकाे कुनै पनि अस्पतालमा त्यसमा पनि २८ दिन त ऊ आईसियु भेन्टिलेटरमा बसेकाे छ। खर्च कति हुन्थ्याे हाेला, त्याे कल्पनाबाहिरकाे कुरा हाे।'
डाक्टर र अस्पतालका कारण छाेराे बाँचेको भन्दै हल्का महशुस गरिरहेकी सत्यदेवीले खुशीका आँशु बगाउँदै भनिन्, 'मराे छाेराे बचाउन्या डाक्टरकन भगवान जस्ता मान्याैँ। हामी आमाबाबु क्या चहियाैं? डाक्टर चहिया। भगवान यिनै हुन्। अस्पताल र डाक्टर सधैँ उभाे लागुन्। मेरा मान्या ढँडार मष्टाे, बुडु, थार्पाे मस्टाेसँगै १२ भाइ मष्टाे, नवदुर्गा भवानी र ३३ काेटी देउता सबैसँग अस्पतालकाे उभाे लागाेस् भनी सधैँभरि भाकल गर्न्या छु।'
उनले थपिन्, 'यतिका डाक्टर र आम्ना मान्ठले भर दिएपछि मर्न आँटेकाे छाेराे घर लिएनाैँ। छाेराे बाँच्याे। नत्र हामीले जिद्दी गरी लिएकाे भया पाप लाग्न्या रहेछ।' जन्मदै आँखाकाे समस्या भएर टाढाकाे नदेख्ने केशव घर आएपछि 'अनलाइन कलास' लिइरहेका थिए। उनले भने, 'डिस्चार्ज भएपछि घर गएर अनलाइन फेरि 'क्लास' लिन्छु।'