नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभाको सदस्यबाट राजीनामा दिएर आफू स्वच्छ राजनीति र पार्टी एकताको पक्षमा उभिएको बताएका छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनबाट ‘ढलेको’ आरोप लगाएपछि उपाध्यक्ष रावलले चार बुँदे जवाफमार्फत प्रचण्डको भनाइलाई ‘हास्यास्पद र मनगढन्त’ भनेका छन्।
रावलले शनिबार राती वक्तव्य जारी गर्दै गठबन्धन सबैको आ–आफ्नो स्वार्थमा बनेको स्पष्ट पारेका हुन्।
‘प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएर म स्वच्छ राजनीति र पार्टी एकताको पक्षमा उभिएको हुँ,’ रावलले वक्तव्य जारी गर्दै भनेका छन्, ‘पुष्पकमल दाहाल प्रचण्डजीले भन्नुभएझैं ‘ढलेको’ होइन। आफ्नो पार्टी फुटाएर अरूका सामु लम्पसार पर्न गठबन्धनमा सामेल भएका होइनाैँ।’
रावलकाे चार बुँदे स्पष्टीकरणः
मैले प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएकोमा पुष्पकमल दाहाल ‘प्रचण्ड’जीले यही साउन ९ गते एउटा सार्वजनिक कार्यक्रममा आक्रोश व्यक्त गर्नुभएको रहेछ। मेरो राजीनामालाई ‘पाँच दलको गठबन्धन’ फुटाउने ‘खेल’ भन्ने उहाँको हास्यास्पद र मनगढन्ते भनाइका सन्दर्भमा यी कुराहरूमा ध्यान दिनु उचित हुनेछ।
– गठबन्धन प्रतिनिधि सभा पुनःस्थापनाका लागि भएको हो। यस क्रममा शेरबहादुर देउवाजीलाई प्रम बनाउने सहमति हो, देउवाजीको स्वार्थ प्रधानमन्त्री हुने, प्रचण्डीको स्वार्थ आफ्ना पार्टीका मानिसलाई मन्त्री बनाउने, उपेन्द्रजीको स्वार्थ महन्थ ठाकुरसँगको संघर्षमा जित हासिल गर्ने र माधव नेपाल पक्षको स्वार्थ पार्टीमा स्वेच्छाचारिता क्रियाकलापलाई पराजित गर्ने रहेको थियो। कोही पनि आफ्नो पार्टी फुटाएर अरू कसैका सामु लम्पसार पर्न गठबन्धनमा सामेल भएका होइनन्। साझा स्वार्थ मिल्दासम्म सहयात्रा गर्ने कुरा मात्र हो।
– प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएर म ‘ढलेको’ होइन, नेकपा (एमाले) लाई ढाल्ने षड्यन्त्रका विरुद्ध र स्वस्थ राजनीतिक अभ्यासको पक्षमा उभिएको हुँ। एमसीसी, नागरिकता, लिम्पियाधुरा–लिपुलेक–कालापानी र अन्य राष्ट्रिय हितका विषयमा प्रम देउवासँग करा गर्ने अवसर नदिई राजनीतिक भविष्य नै दाउमा राखेर निर्देशन मान भन्नु कुन विधि र गठबन्धन संस्कृति हो?
– हामीले सांसद पद मात्र होइन, राजनीतिक भविष्यसमेत दाउमा राखेर प्रतिनिधि सभाको पुनःस्थापना र देउवाजीलाई प्रम बनाउन योगदान पु-यायौं। हाम्रो स्थितिमा हुनुभएको भए के प्रचण्डजी हाम्रोजस्तै त्याग गर्न तयार हुनुहुन्थ्यो?
– मैले स्वस्थ राजनीति र पार्टी एकताको पक्षपोषण गर्न त्यसलाई ‘नेताहरूबीच फाटो ल्याउने’ काम ठान्नु विग्रहकारी चिन्तन हो। पार्टी फुटाएर देश, जनता र वामपन्थी आन्दोलन कसैको भलो नहुने स्पष्ट छ।
प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएर म स्वच्छ राजनीति र पार्टी एकताको पक्षमा उभिएको हुँ, पुष्पकमल दाहाल'प्रचण्ड'जीले भन्नुभएझैं 'ढलेको' होइन।थप कुरा यस प्रकार छन्: pic.twitter.com/bh6zVzR0D9
— Dr. Bhim Rawal (@BhimRawal179) July 24, 2021