निरञ्जन बराल
शुष्क छौ तिमी त तर शुष्क छैन जिन्दगी
चट्टानमै पनि फुल्नु परे फुल्छ फुल्ने कली
यी हरफहरू मेरा होइनन् । यी मिठा, गम्भीर तथा गहिरा हरफहरू अम्बर दाइका हुन्, अर्थात् सांगीतिक क्षेत्रका अग्रणी नायक अम्बर गुरुङका हुन् । मेरो अटोग्राफमा अंकित यी हरफहरू मैले धेरैपल्ट सम्झिएको छु । बेला–बेलामा साथीभाइहरूका माझ पटक–पटक उत्साहित हुँदै सुनाएको छु ।
धेरै वर्षअघि भएको एउटा भेटघाटको अन्त्यमा म र मेरा मित्रको अटोग्राफमा हस्ताक्षरको क्रममा उहाँले अंकित गर्नुभएका यी उद्गार अहिले पढ्दा पनि उत्तिकै रोमाञ्चित हुन्छु, जति पहिलोपल्ट उहाँले अटोग्राफ सही गरेर दिँदाको बखत हतार–हतार हेर्दा रोमाञ्चित भएको थिएँ ।
म र मेरा साथी एक दिन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान पुगेका थियौँ, अम्बर दाइलाई भेट्न । उहाँ एउटा गीतको रेकर्डिङअघि अन्तिम रिहर्सलको क्रममा व्यस्त हुनुहुन्थ्यो । उहाँ आफैँ संलग्न भई गायन रिहर्सल गरिरहेको हेर्न र सुन्ने सौभाग्य पनि मिल्यो हामीलाई ।
रिहर्सल सकिएपछि भेटघाटमा उहाँले हामीलाई आउने कारण, हाम्रो रुचिहरू सोध्नुभयो । हामीले उहाँका बारेमा सोध्यौँ । लामो कुराकानीपछि अटोग्राफमा उहाँको हस्ताक्षर लिएर फर्कियौँ, साह्रै खुसी भएर, साह्रै सन्तुष्ट भएर ।
समयको यत्रो अन्तराल्पछि पनि त्यो भेटघाट स्मृतिमा ताजै छ । सम्झँदा उत्तिकै मिठो लाग्छ, त्यो स्मृति ।
त्यस बेलाको आफूलाई सम्झन्छु । सानैदेखि अम्बर गुरुङका गम्भीर स्वरहरू सुनेर उहाँलाई भेट्ने रहर मनभरि थियो । त्यस बेलासम्म अम्बरप्रति नायकत्व भाव सिर्जना गर्ने ‘नौ लाख तारा उदाए...’ गीतको बोल कण्ठ मात्रै होइन, प्रत्येक हरफका सप्रसंग व्याख्या पनि पटक–पटक गर्न थालिसकिएको थियो ।
जीवनको यस क्रमसम्ममा पढेका, सुनेका संवेदनशील गीत र कविताहरूको माझ साह्रै गम्भीर मुटु नै छुने गीतमध्ये यसलाई पनि लिने गरेको छु । युवावस्थामा त झनै आकर्षित भएको महसुुस गरेको थिएँ ।
मलाई लाग्छ, राष्ट्रप्रति माया झल्काउने तथा राष्ट्रप्रेमले ओतप्रोत गराउने यो गीतले धेरै नै नेपालीहरूलाई बेला–बेला जुर्मुराउन प्रेरित गराएको होला ।
त्यस्तै, ‘म अम्बर हुँ, तिमी धर्ती...’ भन्ने गीतमा व्यक्त अम्बर र धर्तीबीचको फरक तथा यस फरकको बीचमा टुसाउने र फक्रिने मुटुको स्पन्दन र मायाप्रीतिको सुस्केरा पनि बुझ्न थालिसकेको मेरो उमेर थियो त्यस बेला ।
प्रत्येक शब्द कण्ठ पार्न मन लाग्ने बोल भएका र सुनेर कहिल्यै धीत नमर्ने संगीत र अम्बर दाइको सेरोफेरोमा घुमेको त्यस बेलाको सांगीतिक माहोलमा त्यस बेलाका परिकथाजस्ता लाग्ने प्रसंगहरूले साह्रै आकर्षणका पात्र बन्न पुगेका थिए, अम्बर दाइ ।
त्यसमाथि पनि शंकर लामिछानेका निबन्धमा उल्लेख गरेका हेमन्त कुमारले गाएको ‘प्यासा’ नामक हिन्दी फिल्मको ‘जाने वो कैसे लोग थे जिनकी प्यारको प्यार मिला...’ भन्ने गीत अम्बर दाइले बडो भावुक भएर गाउनुहुन्थ्यो भन्ने प्रसंग पढेपछि अहिले पनि मलाई ‘त्यो मौका मैले पनि पाउन सके’ भन्ने असम्भवप्रायः कल्पना भने मनमा आइरहन्छ ।