पुँजीवादी विकासमा चीनले के कमायो र के गुमायो ?
सन् १९१७ को अप्रिलमा चेन दुइक्सुको सम्पादनमा प्रकाशित हुने सिंगक्विंनियन (युवा) नामक म्यागेजिनमा तरुण माओ जेदुङको ‘जन–गणतान्त्रिक चीनमा साम्यवादी सुरुवात’ शीर्षकमा लेख छापियो। त्यसपछि सम्पादक चेन दुइक्सुसँग माओको सम्बन्ध जोडियो। चेन दुइक्सु र उनका अर्का साथी ली दाजाओले जापानबाट माक्र्सवादको अध्ययन गरेर फर्किएका थिए।
पेकिङ विश्वविद्यालयको असिस्टेन्ट लाइब्रेरियनको रूपमा काम गर्दै गरेका माओले चेन दुइक्सु, हु सिह र क्विन सुवान्तोङ तथा प्रोफेसर ली दाझाआबाट माक्र्सवादी विचारधाराबारे धारावाहिक लेक्चर सुन्ने अवसर पाए। उनीहरूकै अगुवाइमा सन् १९१९ को मई महिनामा चीनमा मई फोर्थ मुभमेन्ट हुन पुग्यो। जो वास्तवमा विद्यार्थी आन्दोलन थियो, तर मुलुकमा व्याप्त सामन्तवादविरुद्ध केन्द्रित थियो। त्यही आन्दोलनको जगमा चिनियाँँ कम्युनिस्ट पार्टीको गठन गर्न माथि उल्लिखित व्यक्तिहरू तम्सिए।
सन् १९२१ को जुलाईमा (जुलाई २०–५अगस्त) सांघाईमा पहिलो महाधिवेशन आयोजना गर्ने निधो गरियो। माओ जेदुङ पेकिङस्थित माक्र्सवादी अध्ययन केन्द्रको प्रतिनिधि भएर हुनान हुँदै सांघाई पुगे। महाधिवेशनको पहिलो सेसन ‘फ्रेन्च कन्सेसन’ मातहत एउटा गर्ल्स स्कुलमा भएको थियो। यस्ता ‘कन्सेसन’ चीनका ठूला सहरमा पश्चिमा राष्ट्रहरूले आफ्ना लागि खुला गतिविधि गर्न छुट पाउने प्रचलनलाई भनिन्थ्यो। चीनको कमजोर राज्य व्यवस्थाबाट उनीहरूले यस्ता कन्सेसनमा निर्बाध रूपमा मनलागेको गतिविधि चलाउँथे। त्यो वेला लगभग ५० जना मात्र सदस्य रहेका कम्युनिस्टहरूले आफूमध्ये पनि १३ जना प्रतिनिधि छानेर महाधिवेशन गराएका थिए। महाधिवेशनमा कम्युनिस्ट इन्टरनेसनल अर्थात् कोमिन्र्टनका दुई प्रतिनिधि ग्रिग्रोरी भोइतिनस्की तथा हेनिरिकस स्निभलित (उर्फ कमरेड मारिङ)उपस्थित थिए। महाधिवेशनबाट चेन संस्थापक महासचिव छानिए।