ए डिभिजन लिग : एन्फा तयार भए पनि केही क्लबको आनाकानी, लिग नसार्न खेलाडीको एकै स्वर

पहिलोपोष्ट

काठमाडौँ

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)ले असोज तीन गतेबाट शहीद स्मारक ए डिभिजन लिग गराउने घोषणा गरेसँगै अधिकांश क्लबहरु त्यसको तयारीमा जुटेका छन्। यसपटकको लिगमा राम्रो मुल्यमा खेलाडीहरु ट्रान्स्पर भइरहेको चर्चा चलिरहेको छ। एन्फाले स्वास्थ्य मापदण्ड पालना गर्दै बन्द रंगशालामा लिग आयोजना गराउने तयारी थालेको छ।

यस्तोमा केही क्लबहरु लिग खेल्न अनिच्छुक देखिएका छन्। मंगलवार चार वटा क्लबहरुले कोभिड संक्रमण बढ्दो रहेकाले तत्काललाई लिग रोक्नुपर्ने भन्दै एन्फामा निवेदन नै दिएका थिए।

थ्री स्टार क्लब, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब र ब्रिगेड ब्वाइज क्लबले उपयुक्त समयमा मात्र लिग गराउन भन्दै एन्फामा निवेदन दिएका हुन्। जावलाखेल युथ क्लबका अध्यक्ष महेन्द्र क्षेत्री, फ्रेन्ड्स क्लबका अध्यक्ष दीपक थापा, थ्री स्टार क्लबका महासचिव सञ्जिव सिल्पाकार र ब्रिगेड ब्वाइजका अध्यक्ष डा लालकुमार पुनले एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई निवेदन दिएका हुन्। 

यसअघि असार १४ मा बसेको एन्फा र ए डिभिजन क्लबबिचको बैठकमा मार्केटिङ सम्बन्धीमात्र चर्चा भएको र ३१ गते मेलमार्फत साउन १० भित्र खेलाडी दर्ता सम्पन्न गर्न भनिएको एन्फाको एकतर्फी कुरा रहेको भन्दै निवेदनमा असहमति जनाइएको छ।

'असोज ३ गतेबाट सुरु हुने भनिएको शहीद स्मारक ए डिभिजन लिग कोभिडको भयाभह स्थितिका कारण आयोजना गर्न कुनै पनि हालतमा उपयुक्त नदेखिने हुँदा कम्तीमा पनि संक्रमण दरमा अत्याधिक कमी आइसके पछिमात्र ए डिभिजन लिगलगायत फुटबल गतिविधि गराउन उपयुक्त देखिन्छ,' एन्फामा दर्ता गरिएको निवेदनमा भनिएको छ।

प्रकाशित मिति: : 2021-07-24 07:50:00

प्रतिकृया दिनुहोस्