प्रमिलाको कौसीबाट प्रायः काठमाडौं सहर जम्मै देखिन्छ– धरहरा, घण्टाघर, टुँडिखेल, रानीपोखरी...। एकनाससँग कौसीबाट हेरिरहँदा उसलाई कहिलेकाहीँ यस्तो पनि लाग्छ, मानौँ ऊ एकदम अग्ली हुँदै गइरहेकी छ। धेरै बेरसम्म एकै ठाउँमा हेरिरहन नसक्ता ऊ दृष्टि फेर्छे। टाढा–टाढाको पहाड, त्यसको शिखर, त्यहाँबाट उसको आँखा थाकेर तल ओर्लिन्छ। तल, टुँडिखेल, हरियो चउर। फेरि घण्टाघर, फेरि धरहरा !
गमलाको बोटलाई हातले किचिकिची चलाउँदै प्रमिला सोचिरहेकी छ। सोच्तासोच्तै अचानक उसलाई थाहा हुन्छ, भर्खरका बोटबिरुवालाई हातले छोइरहँदा मरेर जाने सम्भावना हुन्छ। र, ऊ गमलाबाट हात हटाउँछे। उसको चेहरा कतै अल्झेको देखिन्छ।
केही दिनअघि सावित्रीले उसलाई जुन कुरा सुनाएकी थिई, त्यो कीराजस्तै उसको मनभित्र पसेर चलिरहेछ, उसलाई खाइरहेछ।
सावित्री र राधा उसका सहेलीहरू हुन्। एक दिन दुवैजना उसको घरमा आई धेरै बेरसम्म बसेर गफैगफ गरी गएका थिए। हासखेल, ठट्टा त्यस दिन खुब चलेको थियो। राधाले त्यो दिन प्रमिलालाई हैरान पारेकी थिई। छिनछिनमा खिल्ल हाँस्तै उसलाई काउकुती मात्र लगाउने गर्थी। सावित्रीचाहिँ एउटै कुरालाई दोहर्याई–दोहर्याईकन भनिरहेकी थिई। उसलाई कसैले हासखेल, ठट्टामा भाग लिएको अहिलेसम्म देखेको छैन होला। मानौँ, ऊ हाँस्नै जान्दिन कि जस्तो पनि लाग्छ। गराइ पनि एक तमासको हुन्छ। कुरैकुरामा त्यो दिन उसले यौटा अचम्मको कुरा सुनाई। कुरा थियो, उसको दाजुले बाहिर स्वास्नी राखेको। आजकाल उसको घरमा यही चर्चा छ रे। उसका आमा–बाबुले हार खाएर उसको दाजुलाई भनि पनि सके रे– त्यसो हो भने घरैमा ल्याए भइहाल्यो नि।