६ बर्षदेखि बेपत्ता हिरालाललाई भारतबाट जब त्रिकालले गर्‍यो उद्धार (भिडियाेसहित)

बिएल संवाददाता

उर्लाबारी  

४९ वर्षीय हिरालाल धिमाल ६ वर्षअघि एकाएक बेपत्ता बनेका थिए। उर्लाबारी–८ जरुवापानीका हिरालाल गाउँमै जनमन गरेर निर्वाह चलाउँथे। उनी बेपत्ता भएसंगै पीरैपीरमा रहेका हिरालालका बाबु बिते।

परिवारका सहारा रहेका उनी किन बेपत्ता बने भन्नेमा आफन्तजन चिन्तित बने। कमजोर आर्थिक अवस्थाका कारण उनको खोजी कार्य गर्न परिवारलाई हम्मे पर्यो। दिनहरु बित्दै गए।

यस्तैमा एकदिन फेसबुक चलाइरहँदा उर्लाबारीका सामाजिक अगुवा नारायण बस्नेतको आँखा एउटा भिडियोमा गएर टक्क रोकियो। उनले मिहिन ढंगले दृश्यलाई नियाले। बस्नेतलाई कतै देखेको अनुहारजस्तो लाग्यो। नाङ्गो जिउ, अत्यासलाग्दो अनुहारका धिमालले ‘जब घर कहाँ हो ?’ भनेर सोध्नेलाई घरी जरुवापानी त घरी गंगटे भनेर बताइरहेका थिए। बस्नेत निश्चिन्तन भए। अनि उनलाई उद्दार गर्न अग्रसरता लिए।

जबकी हिरालाल धिमाल भारतको हरियाणामा फेला परेको भिडियो सामाजिक सञ्जालमा ‘भाइरल’ भइरहेको थियो। तर, उनको उद्दार त के सामान्य चासो लिने काम न त उर्लाबारीको स्थानीय सरकारले देखायो, न धिमाल जातीय संघ, संगठनले नै। नारायण बस्नेत, तिनै व्यक्ति हुन् जो त्रिकाल फाउण्डेशनका अध्यक्ष समेत रहेका छन्।

उनले कोरोना कहरको यो बेला अनेक उल्झन ब्यहोरेर हिरालाल धिमाललाई स्वदेश फर्काउन लिएको पहलकदमीको यतिबेला सर्वत्र प्रशंसा भइरहेको छ। बस्नेतले भने–‘ समाजमा मानवता हराउँदै गएको छ, कोरोनालाई कारण देखाउँदै जिम्मेवार व्यक्तिहरु पन्छिएपछि, म पछि हट्न सकिनँ।’ एउटा गरिब व्यक्ति बिरानो ठाउँमा लावारिस बनेको देख्दा भक्कानो छुट्यो, अनि उद्दार गरे।

६ वर्ष परिवारसंग सम्पर्कविहिन भएका धिमाललाई हरियाणाको हिसार रोडमा दुई साताअघि फेला परेका हुन्। टिठ लाग्दो अवस्थामा स्थानीयले देखेपछि उनको सोधखोज गरेर सामाजिक सञ्जालमा भिडियो राखेका थिए। जुन दृश्य हेरेर उर्लाबारी–८ का बस्नेतले हिरालालको उद्दार गर्ने हिम्मत जुटाए। मानसिक रुपमा समेत विक्षिप्त रहेका हिरालालको विराटनगरस्थित अस्पतालमा उपचार भइएको छ।

प्रकाशित मिति: : 2021-07-20 16:36:00

प्रतिकृया दिनुहोस्