ओलीपछि शङ्कर पोखरेलतिर नजर, विपक्षी दलहरूको यस्तो छ तयारी

रातोपाटी

रुपन्देही

बुटवल। केन्द्रमा केपी शर्मा ओली नेतृत्वको सत्ता विस्थापित गरेसँगै नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्रसहितको गठबन्धनले लुम्बिनी प्रदेश सरकार विस्थापित गर्न रणनीति तयार पारिरहेको छ।

लामो समयदेखि अल्पमतका बाबजुद सत्तामा रहेका मुख्यमन्त्री शङ्कर पोखरेलले विभिन्न बहानामा सत्ता लम्ब्याउँदै आएको भन्दै विपक्षी गठबन्धनले उनलाई विस्थापित गर्न खोजेको हो। विपक्षी गठबन्धनले प्रदेशसभामा मुख्यमन्त्री पोखरेल अल्पमतमा रहेको र आफूहरूसँग प्रस्ट बहुमत रहेको दाबी गर्दै आएको छ।

केपी शर्मा ओलीका खास सहयोगी भएकाले पनि विगतमा मुख्यमन्त्री पोखरेलले ओलीकै इशारामा संविधानलाई उपेक्षा गर्दै अल्पमतका बाबजुद सत्तालाई लम्ब्याउँदै आएका थिए। तर केन्द्रबाट ओली सरकार विस्थापित भएपछि लुम्बिनी प्रदेश सरकारको विकल्प खोज्न सहज भएको विपक्षी गठबन्धनको ठहर छ।

यद्यपि, काँग्रेस, माओवादी केन्द्र, जसपा, राष्ट्रिय जनमोर्चासहितका दलहरूले लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवको भूमिका निष्पक्ष हुन नसकेको, संविधानको मर्म अनुसार उनले काम गर्न नसकेको भन्दै उनकोसमेत विकल्प खोज्न केन्द्रमा दबाब दिइरहेका छन्। प्रदेश प्रमुख परिवर्तन गरेरमात्र लुम्बिनी प्रदेश सरकारको विकल्प खोज्नुपर्ने उनीहरूको भनाइ छ।

प्रकाशित मिति: : 2021-07-20 11:54:00

प्रतिकृया दिनुहोस्