माओवादी केन्द्र प्रदेश २ सरकारमा सहभागी हुँदै

विजय साह

जनकपुर

प्रदेश २ सरकारमा नेकपा माओवादी केन्द्र सहभागी हुने भएको छ।

एउटा मन्त्रालय र एक राज्यमन्त्री लिएर माओवादी केन्द्र सरकारमा सहभागी हुन लागेकाे हाे।

जेठको अन्तिम साता नै सरकारमा सहभागी हुने तयारी भए पनि मन्त्रालय बाँडफाँडमा सहमति हुन नसक्दा माओवादी केन्द्र सरकारमा जान मानेको थिएन। तर अब तीन–चार दिनभित्रै सरकारमा जाने माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक दिलीप साहले जानकारी दिए।

सुरुमा माओवादीले दुई मन्त्रालय र दुई राज्यमन्त्री दिनुपर्ने अडान राखेको थियो। तर अब एउटा मन्त्रालय र एक राज्यमन्त्री लिएर माओवादी सरकारमा जाने सचेतक साहले बताए। उनले भने, ‘अब हामी तीन–चार दिनभित्रै सरकारमा जान्छौं। एउटा राम्रो मन्त्रालय र एक राज्यमन्त्री दिने कुरामा छलफल भइरहेको छ।’

कांग्रेस र माओवादीसँग सत्ता सहकार्यका लागि सरकारका तर्फबाट गठित वार्ता समितिका सदस्य भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले पनि माओवादी चाँडै सरकारमा आउन लागेको बताए। ‘छलफल सकारात्मक भएको छ। उहाँहरु चाँडै सरकारमा आउनुहुन्छ भन्ने विश्वास छ,’ उनले भने।

जनता समाजवादी पार्टी (जसपा)को सरकार रहेको प्रदेशमा जसपाभित्रको पूर्व समाजवादीले पूर्व राजपाका मन्त्रीलाई पदमुक्त गरी कांग्रेसलाई यसअघि नै सरकारमा ल्याइसकेको छ।

कांग्रेसतर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, महिला बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र सिंह र ऊर्जा तथा खानेपानी मन्त्री ओमप्रकाश शर्मा बनेका छन्।

कांग्रेस र माओवादीलाई सरकारमा ल्याउनका लागि ६ मन्त्रालयबाट प्रदेशमा १० मन्त्रालय बनाइएको छ।

प्रकाशित मिति: : 2021-07-16 08:58:00

प्रतिकृया दिनुहोस्