काँग्रेसका 'छाया मन्त्री' साँच्चैको मन्त्री बन्न दौडधूप

रातोपाटी

काठमाडौँ

नेपाली काँग्रेसका नेतृत्वमा सरकार गठन भएसँगै हिजो छाया मन्त्री रहेकाहरू अब साँच्चैको मन्त्री बन्नका लागि दौडधूपमा लागेका छन् । 

विगतमा केपी ओलीको सरकारमाथि निगरानी गर्न नेपाली काँग्रेसले छाया सरकार बनाएको थियो । जसमा, डा. नारायण खड्का छाया परराष्ट्र मन्त्री थिए ।

त्यसै गरी डिला सङ्ग्रौला श्रम, राजेन्द्र केसी वन, बहादुरसिंह लामा सञ्चार, उमा रेग्मी महिला, सञ्जय गौतम भौतिक पूर्वाधार,  उमाकान्त चौधरी सहरी विकास, देवेन्द्रराज कँडेल पर्यटन र भीमसेनदास प्रधानले रक्षा मन्त्रालयको छाया जिम्मेवारी सम्हालेका थिए । त्यस्तै दिलेन्द्रप्रसाद बडू छाया गृहमन्त्री थिए भने डा मिनेन्द्र रिजाल छाया अर्थमन्त्री थिए ।

देउवाले छाया मन्त्रालयका आधारमा मन्त्रीहरु नियुक्त नगरिने सङ्केत दिइसकेका छन् । यसैअनुसार गृहमा काँग्रेस बालकृष्ण खाँण र अर्थमा माओवादीबाट जनार्दन शर्माले जिम्मेवारी पाइसकेका छन् । छाया उर्जामन्त्री ज्ञानेन्द्र कार्की कानुन मन्त्री भएका छन् भने माओवादीबाट पम्फा भुसाल उर्जा मन्त्री भनेकी छन् ।

यतिबेला नेपाली  काँग्रेसबाट डा. मिनेन्द्र रिजाल, मानबहादुर विश्वकर्मा,  दिलेन्द्र बडू, देवेन्द्र कँडेल, डिला सङ्ग्रौला, तेजुलाल चौधरी, बहादुरसिंह लामा, मोहनप्रसाद पाण्डे, राजेन्द्र केसी, सञ्जय गौतम, उमा  रेग्मी, तारादेवी भट्ट उमाकान्त चौधरी, किशोर सिंह, भीमसेन दास प्रधान, जितेन्द्र देवलगायत मन्त्रीको लबिङमा छन् ।

देउवा पक्षबाट पूर्णबहादुर खड्का, मानबहादुर विश्वकर्मा, बहादुरसिंह लामा, डिला सङ्ग्रौला, देवेन्द्रराज कँडेल, किशोर सिंह, उमा रेग्मी, तारादेवी भट्ट, जितेन्द्र देव लगायतको नाम चर्चामा छ । यस्तै पौडेल पक्षबाट रिजाल, बडू, तेजुलाल चौधरी मोहनप्रसाद पाण्डे, राजेन्द्र केसी र सञ्जय गौतम लगायतको नाम चर्चामा छ ।

प्रकाशित मिति: : 2021-07-15 17:56:00

प्रतिकृया दिनुहोस्