जब नुनादेवीले कोरोनालाई सजिलै जितिन्... (भिडियाे)

तेजन खड्का

उर्लाबारी

कोरोना भाइरस संक्रमणको खतरा वृद्ध र बिरामीलाई हुने मानिँदै आएको छ। विश्वमा यसका कारण मृत्यु हुनेमा पाका उमेरका मानिस पनि धेरै छन्। तर मोरङको उर्लाबारीमा ७५ वर्षकी वृद्धाले कोरोना भाइरसलाई पराजित गर्न सफल भएकी छन्।

सोमबार मध्यान्ह नुनादेवी थापा ७५ हर्षित मुद्रामा देखिइन्। कोरोना संक्रमणको कारण दुर्गापुरीस्थित आइसोलेसनमा उपचाररत थापाले कोरोना संक्रमणलाई जितेपछि खुशी भएकी हुन्। उर्लाबारी—८ मा बस्दै आएकी उनी संक्रमणपछि निरास हुँदै अस्पताल पुगेकी थिइन्, तर फर्कंदा कोरोनालाई हराएर मुस्कुराउँदै घर फर्किएकी छन्

उनलाई कोरोनाले कैले छोड्छ भन्ने चिन्ता थियो। गत असार १४ गते कोरोना पोजेटिभ आएपछि उनी  राजघाट उपस्वास्थ्य चौकीको कोभिड हस्पिटलमा आइसोलेट भएकी थिइन्।

‘कोरोना संक्रमण भएपछि एकदिन त सास फेर्न पनि निक्कै गाह्रो बनाएको थियो', उनले भनिन्, 'अरु दिन त आराम गरेर बसियो। स्वास्थ्यकर्मीहरुको राम्रो हेरचाह पाएँ।'

कोरोना संक्रमण हुँदा कतिपनि डर नलागेको उनले बताइन्। ‘मलाई त डरै लागेन, थापाले भनिन्, डरायो भने काहाँ बाँचिन्छ र? कोरोना भन्दा ठुलो रोग त्रास भएको उनले उल्लेख गरिन्।

कोरोना नेगेटिभ आएपछि आज राजघाट स्वास्थ्य चौकीमा थापालाई बिदाई गरिएको थियो। नुनादेवीको छोरा हडेन्द्र थापाले ज्यानको बाजी राखेर आमाको उपचारमा अहोरात्र खट्ने स्वास्थ्यकर्मीको टिमलाई धन्यवाद प्रकट गरे।

उनले भने, ‘डाक्टर राजकुमार चौधरीको टिमलाई धन्यवाद दिन चाहान्छु। उहाँको टिमको निगरानी र अथक प्रयासले मेरो आमा पूर्ण रुपमा कोरोना परास्त गर्न सफल हुनुभएको छ।’ उनी आफ्नी आमालाई बचाउनुको श्रेय चिकित्सकलाई दिन चाहन्छन्।

‘जब आमालाई कोरोना भाइरस देखियो हामी घरमै क्वारेन्टाइनमा थियौं, हडेन्द्रले भने, ‘आमा अस्पतालमा हुनुहुन्थियो, आमासँग हाम्रो भेट भएको थिएन, आत्तिएका थियौ।’ उपचारमा भइरहेको प्रगति उनले परिवारलाई जानकारी दिएका थिए। यो सबै आमाको बलियो इच्छाशक्तिका कारण सम्भव भएको परिवारका सदस्य र चिकित्सकको भनाइ छ।

'आमाले अस्पतालमा कोरोनालाई जितेको खबर हामीले पायौ, ‘हामी उहाँको उमेरदेखि डराएका थियौं', छोरा हडेन्द्रले भने, 'अस्पतालमा उहाँको मनोबल एकदमै उच्च थियो। जसले गर्दा १४ दिनको अस्पताल बसाईपछि कोरोना परीक्षणमा नेगेटिभ रिपोर्ट आयो।’

छोरा हडेन्द्रका अनुसार हट्टाकट्टा आफ्ना साथीभाई कोरोनाको कारण निधन भएको सुन्दा देख्दा आमालाई कसरी कोराना पराजित गराउने भन्ने डर थियो।

आमालाई फर्काउन सकिने हो कि होईन भन्ने दुविद्धाका साथ आमाले कोरोना जितेकोमा निक्कै खुशी लागेको उनले प्रतिक्रिया दिए। हुन त ज्यानको अगाडी पैसा ठुलो कुरो हाईन, ठुला हस्पिटल लगेको भए, १५/२० लाख सकिने रहेछ। तर यहाँ सवै निशुल्क उपचार भयो।

हडेन्द्रले उर्लाबारी नगरपालिकाद्वारा सञ्चालित राजघाटको कोभिड हस्पिटल प्रति निक्कै भरोसा देखाए। १० लाखमाथि सम्मको निशुल्क उपचार खाना बस्नको प्रवन्धले कोरानाको बिरामीलाई निक्कै सजहता भएको स्थानीय राजन रायमाझीले बताए।

उनले भने, ‘ठुला हस्पिटलमा पैसा पनि सकिएको मान्छे पनि सकिएको खबरहरु आइरहेका छन्। राजघाटको कोभिड हस्पिटल अन्य हस्पिटल भन्दा कम छैन।’

प्रकाशित मिति: : 2021-07-13 13:04:00

प्रतिकृया दिनुहोस्