नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू विपक्षी गठबन्धनबाट अलग भएको बताए।
सर्वोच्च अदालतको फैसलापछि सोमबार साँझ बसेको विपक्षी गठबन्धनको बैठकमा उनले सो कुरा बताएका हुन्।
एमाले एकताको अवस्थामा रहेकाले आफू गठबन्धनमा रहन नसक्ने उनले बताए। पार्टी एकताको लागि क्रियाशील हुने समेत नेता नेपालको भनाइ थियो।
‘लोकतन्त्र र अग्रगमनका लागि हुने लडाइँमा मेरो सधैं साथ रहन्छ। तर अहिले हाम्रो पार्टी एकताको प्रक्रियामा छ। त्यसैले हाम्रो पार्टी एमालेले जे निर्णय गर्छ, त्यसअनुसार पार्टी अगाडि बढ्छ, तपाईंहरूले एमालेसँग पनि मुलुकको हितका लागि छलफल र सहकार्यको कोसिस गर्नुहोला’, नेता नेपालले बैठकमा बाेलेकाे भनाइ उद्धृत गर्दै रघुजी पन्तले भने, ‘फराकिलो ढंगले सरकार चलाउने कोसिस गर्नुस्। आधारभूत मान्यतामा रहनुस्।’