राष्ट्रिय आविष्कार केन्द्रलाई अमेरिकामा बस्दै आएका नेपालीहरुले गरे ठूलाे सहयाेग

बिएल संवाददाता

पेन्सिलभेनिया

राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ अमेरिकाको पेन्सिलभेनियामा संयुक्त रुपमा दुई वटा कार्यक्रम आयोजना गरिएको छ।

स्थानीय सामाजिक संघ-संस्थालगायत यहाँ बसाेबास गर्दै आएका नेपालीहरुको सक्रियतामा आयोजित दुई कार्यक्रममा करिब ३८ हजार डलर (नेपाली ४५ लाख रुपैयाँ) संकलन भएको छ। ब्रुक मेडो फर्म ह्यारिसवर्गमा आयोजति कार्यक्रममा २२ हजार पाँच सय १० डलर तथा एक्सटनमा आयोजित कार्यक्रममा १५ हजार सात सय ६८ संकलन भएको हो।

वुद्धिराज कालाखेती र डा.केशव भण्डारीले संयोजन गरेकाे एक्सटनमा आयोजित कार्यक्रममा पेन्सिलभेनिया नेप्लीज गुठी एशाोसिएसन र डेलाभर भ्याली नेपाली पाठशाला लगायतका स्थानीय संघसंस्थाले सहयोग गरेको थिए।

एशोसिएसनको तर्फबाट सात हजार चार सय ३८ तथा पाठशालाको तर्फबाट एक हजार पाँच सय ५० गरि कार्यक्रममा जम्मा १५ हजार सात सय ६८ डलर संकलन भएको थियो।

आविष्कार केन्द्रका संथापक डा.महावीर पुनले केन्द्रको अभियानमा सघाउन तयार सम्पूर्ण दाताहरुलाई धन्यवाद दिएका थिए।

डा. सुनिल नेपालले पुनको परिचय, परोपकारी काममा सक्रिय आविष्कार केन्द्रको योगदानलगायतका विषयमा प्रकाश पारेका थिए। त्यस्तै कार्यक्रममा डा. वर्षा मोक्तान रायमाझीले सहभागी तथा प्रमुख अतिथि डा.पुनलाई स्वागत मन्तव्य दिएकी थिइन्।

सहयोगी संघ-संस्था तथा उपस्थितहरुलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम संयोजक कालाखेतिले नेपालीहरुले डा. पुनकै जस्तो राष्ट्रहित तथा सामाजिक कार्यमा प्रवासी नेपालीहरुको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।

ह्यारिसवर्गमा आयोजित कार्यक्रममा डा. पुनले नेपालमा कोभिड जोखिम नियन्त्रणमा आविष्कार केन्द्रले गरेका सहयोगी गतिविधि, निर्वाह गरेको भूमिका र केन्द्रका भावी कार्ययोजना लगायतका विषयमा जानकारी गराएका थिए।

'पैसा संकलमा भन्दा ठोस तथा उचित कार्ययोजना निर्माणमा चुनौती छ', उनले भने, 'त्यसका लागि काम गर्नुछ।'

भेषराज खत्रीले सञ्चालन गरेकाे कार्यक्रममा यदु वन्जाराले सहभागी तथा डा. पुनको अभियानमा सहयोग गर्ने सम्पुर्ण सहयोगी मनहरुलाई धन्यवाद दिएका थिए।

कार्यक्रमका लागि निशुल्क हलसमेत उपलब्ध गराउने व्रुक मेडो फर्मले आविष्कार केन्द्रलाई सबैभन्दा बढी पाँच हजार एक डलर तथा एनआरएन पेन्सिलभेनिया च्याप्टर टीमले तीन हजार डलर सहयोग गरेको थियो।

राज्यका दुवै स्थानमा आयोजना गरिएकाे कार्यक्रममा नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो भने सहभागीहरुले डा. पुनको अभियानमा भविष्यमा पनि यस्तै सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।

आविष्कार केन्द्रको सहयोगार्थ विभिन्न राज्यका नेपालीहरुको अनुरोधमा आयोजना गरिएका विभिन्न कार्यक्रममा डा. पुन सहभागी हुँदै आएका छन्।

आफू अध्ययन गरेको यूनिभर्सिटी अफ नेव्रास्काका पूर्व प्राध्यापक तथा डा. पुनदारा स्थापित हिमाञ्चल फाउण्डेशनका सहयोगी डा. स्कोभको निधनपछि आयोजना गरिएको अन्तिम श्रद्धाञ्जलीसभामा सहभागी हुन उनी गत मे २३ मा अमेरिका आएका थिए।

केन्द्रका नाममा संकलित रकम सोसाइटी अफ अमेरिकन नेप्लीज नर्सेस नामक संथामार्फत केन्द्रलाई हस्तान्तरण गरिने छ।

दुवै कार्यक्रमका संयोजकहरुले संकलित रकम सोही संस्थाको वैंक खातामा जम्मा गरिसकिएको जानकारी दिएका छन्। 

प्रकाशित मिति: : 2021-07-11 09:18:00

प्रतिकृया दिनुहोस्