प्रेमको कन्फेसन्स 

मणि लोहनी

काठमाडौं

मणि लोहनी 

तिमीलाई भेटेपछि 
मलाई जिन्दगीका भूलहरु सच्याउन मन लागेको छ।

जानेर नजानेर 
कतिको चित्त दुखाए हुँला
तिमीसम्म पुग्नका लागि देखेर नदेखेर 
कतिका सपनाहरु कुल्चेर हिडे हुँला
तिमीलाई पाउनका लागि
कतिलाई गुमाए हुँला
आज
तिमीलाई भेटेपछि 
मलाई जिन्दगीका भूलहरु सच्याउन मन लागेको छ। 

जसरी सच्याउँछ कुनै लेखकले 
पछिल्ला संस्करणहरुमा आफ्ना कमजोरीहरु 
जसरी सच्याउछे एउटी आमाले 
आफ्ना नानीका ससाना गल्तीहरु 
हो, सच्याउन मन लागेको छ मलाई 
धमिलिदै गएको जिन्दगीको एउटा पुरानो पृष्ठ। 

धेरै गरेँ आफ्ना हत्केलाबाट ढंग नपुगेका चुम्वनहरुको साँटासाँट
धुँवा, कफीको चुस्की र बर्जित स्वैर कल्पनाहरुसंग
अप्ठयारो सपना बोकेर दौडिरहेथेँ बर्षौदेखि 
आज तिमीलाई भेटेपछि म शिरदेखि पाउसम्म संकोचले भिजेको छु 
र थरथराइरहेका छन् विगतमा आफैले गरेका भूलहरु आफ्ना अघिल्तिर।

अव तिमीसंग बाँच्नु छ मलाई 
हुनुछ तिम्रो उपस्थितिसंग 
रहनु छ तिमीभित्रै जसरी समेटिएकी छ्यौ तिमी ममा 
तिम्रो सोचाईको एउटा स्पर्शलाई समाउन 
मैले आफ्ना सपनाहरु ओच्छाएको छु तिम्रा प्रत्येक पाइलाहरुमा 
तिमीले आफ्ना सपनाहरु बााचिरहेको यो समय 
आफुले प्रयोग गरिसकेको दिनहरुको पातलो गन्धले मलाई बिथोल्न खोज्छ
तर डराउँदिन म 
मैले भेटेको छु, हराएको मेरो प्रेमको लय।

तिमीलाई भेटेपछि 
मलाई जिन्दगीका भूलहरु सच्याउन मन लागेको छ।

प्रकाशित मिति: : 2021-07-10 15:39:00

प्रतिकृया दिनुहोस्