काेठाबाट सुरु भएकाे सम्बन्ध काेठामै सकियाे

कमल आचार्य

काठमाडौँ
Breaknlinks
Breaknlinks

मैले आँखा बन्द गरेर उनको ओठसँग आफ्नो ओठ जोडेँ। उनका आँखाहरु पनि बन्द नै थियो होला !

विस्तारै मैले आफ्नो दाहिने हात उनीमाथि तेर्साएँ। उनको शरीर एकदम तातो ज्वरो आएकोजस्तो भएको थियो।

उनलाई पनि केही आपत्ति भएन। त्यतिबेलासम्म मैले एउटा हात तलबाट र अर्को हात माथिबाट लगेर अंगालोमा बाधिरहेँ।

विस्तारै मैले आफ्नो होस गुमाउदै थिएँ। मेरो हात उनको स्तनसम्म पुग्यो, जुन मेरो पहिलो अनुभव थियो। के गर्ने भन्ने अन्योलमै थिएँ।

उनको शरीरको वस्त्र र मैले लगाएको वस्त्र कति बेला उतारेका थियौं, मलाई याद नै भएन। सायद मैले नै उतारेको हुनुपर्छ, पहिले।

उनको निधारबाट सुरु गरेको 'किस' विस्तारै ओठ हुँदै उनको घाँटीदेखि स्तनसम्म पुगिसकेको थियाे। उनी छट्पटाउन थालेकी थिइन्। उनको शरीर झन्-झन् तातो हुँदै थियो। उनका खुट्टाहरू दायाँ-बायाँ चल्दै थिए।

बिहानै उठ्दा हामी दुबै वस्त्रविहिन थियौं। कोठाको चारैतिर हाम्रो वस्त्रहरु छरिएका थिए। उनी मेरो अंगालोमा बाँधिएकी थिइन्। उनको अनुहारमा छुट्टै किसिमको खुसी छाएकाे थियाे।

छुट्न मन नहुँदा-नहुँदै पनि दुई दिन र रातको बसाइँपछि हामीले आ-आफ्नै कोठातिर फर्कने निर्णय गर्यौं।

मुटु भारी बनाउँदै उनले आँखाबाट आँशु खसालिन्। मेरो पनि आँखाभरी आँशु थियो। उनले देखिन या देखिनन्, थाहा छैन !एकअर्काको हात छोपेर बसपार्कतर्फ हिँड्दै थियौं। हामी एकअर्कालाइ धेरै बेरसम्म हेर्दै आ-आफ्नो कोठातिर लाग्यौं।

त्यो कोठाको बसाइँपछि हाम्रो सम्बन्ध झन् बलियो भएको महसुस गरेकाे थिएँ। त्यसपछि हामीले झन् एकअर्काको ख्याल गर्न थाल्याैं। पहिलेभन्दा झनै खुलेर कुरा हुन थालेकाे थियाे।

कहिलेकाहीँ भन्ने गर्थे मैले, 'अलि उता जाउ न कुनामा, म पनि तिमीसँगै सुत्छु छेउमा।'

उनले भन्ने गर्थिन्, 'नाइ, मलाई कुनामा डर लाग्छ। तपाइ नै कुनामा आउनुस् !'

मैले फेरि 'नाइ-नाइ' भन्थें।

उनी हाँस्दै भन्थिन्,' त्यसाे भए माथि नै आउनुस् न त !'

कैलेकाहीँ त मैले 'तिम्रो त्यो टिसर्ट खोल न' भनेरसमेत जिस्काउथें।

छुट्टै प्रेमिल संसार थियो हाम्रो। संसार नै बेग्लै थियो हाम्राे लागि। अरु कोही थिएनन्। कसैको मतलब थिएन हामीलाई।

कहिलेकाहीँ उनको कोठामा आफन्त आउँदा साउन-भदौको गर्मीमा पनि सिरकभित्रबाट लुकी-लुकी बोल्ने गर्थिन्। हाम्राे बानी नै बसिसकेकाे थियाे। हामी जबसम्म बोल्थेनाैं, तब रातिको दुइ बजेसम्म पनि निद्रा लाग्दैन्थ्यो।

करिब तीन महिनापछि।

म रातको ११ बजे कामबाट फर्केपछि मेरो फोनको घन्टी बज्यो। अचानक‌ उनी रुँदै थिइन्। बोल्नसक्ने अवस्थामा थिइनन्। एकहोरो डाँको छोडेर रोएको आवाज सुनेपछि मेरो मन पनि डरायो। शरीरभरी जिरिङ्ग काँडाहरु उठे। खाना पनि खाएको थिएन। तर भोक पनि हरायो।

आधा घन्टासम्म सँग-सँगै हामी रोयौं। आधा घन्टापछि उनले मेरो फोन काटिन्।

फेरि उनको फोन आयो। भिडियो कलमा मेरो सिरानी आँशुले भिजेको थियो। उनको पनि हालात उस्तै थियो।

दुबै जनाले मुख धोएर सामान्य अवस्थामा फर्किदै थियौं। फेरि पनि उनीमाथि ठूलै पहाड खसेजस्तो अनुहार स्पस्ट देख्न सक्थेँ। के भयो भन्दै मैले सोध्न नपाउँदै उनी फेरि रुन थालिन्।

आफूलाई दह्रो बनाएर फकाएँ। उनलाई सोधें, के भयो ?

कान्छा, सानी, जानु जस्ता थुप्रै नामले बोलाउने गर्थ्याैं हामी। उनले रुदै भनिन्, 'हामी अब एक हुन सक्दैनाैं। मेरो घरमा सबथोक थाहा भइसक्यो।'

सुरुमा उनले मजाक गरेजस्तो लाग्यो। फेरि सोचें- आजसम्म एकथोपा आँशु नदेखेको उनको अनुहार अचानक आँसुले भिज्दा पक्कै केही भएको हुनुपर्छ। मेराे मन बिचल्ली भयाे।

फेरि आजसम्म नआएको यस्तो कुरा अचानक आउँदा आँखाभरी आँशु थिए। फेरि पनि उनलाई हौसला दिदै भने, 'ह्या, केही हुँदैन। सबै मिलिहाल्छ नि। हाम्रो प्रेम त्यति कमजाेर कहाँ छ र ?'

त्यो रातभर रुदै थिएँ। उनी पनि रुदै थिइन्। यत्तिकैमा म कतिबेला निदाएछु, पत्तो नै पाएन। मलाई रातको तीन बजेसम्म मात्रै याद छ। बिहान ६ बजे आँखा खुल्यो। उनको कपाल बिग्रिएको, आँखा ठूला भएका रहेछन्। सायद मभन्दा धेरै उनी रोएको हुनुपर्छ।

अर्कोदिन उनलाई सोधें, 'के भएको थियाे, हिजो राति ?'

त्यो दिन म काममा पनि गएन। उनी पनि बिमारी छु भनेर अफिसबाट छुट्टी लिएको रहेछिन्।

उनले भनिन्, 'नास्ता बनाएर खानुस्, हिजो पनि खाना नखाएरै यत्तिकै निदाउनु भयो। म पनि खान्छु। भयो छोड्नुस् हिजोको कुरा।'

मनमा अनेकौ कुरा खेलिरहेको थियो। फेरि पनि उनीसँगै साथ-साथमा नास्ता बनाएर खायौं। या भनौ, हामी साथमा खादै थियौं। मलाई थोरै पनि मिठो लागेन। उनी पनि भागमा मात्रै बसिन्।

खाइसकेपछि या भनौ भाग बसिसकेपछि फेरि दोहोर्याएर उनलाई प्रश्न सोधेँ, 'हिजो राति के भएको थियो ?'

उनको जवाफ धेरै बेरपछि आयो। उनले भनिन्, 'घरमा मान्नु हुँदैन। अब हामीले आ-आफ्नो बाटो लाग्नुपर्छ।'

मैले फेरि उनलाई सम्झाएँ, कसको घरमा सजिलै स्विकार गर्छन् त प्रेम, सानी ? लडिरहनु पर्छ। कन्भेन्स गर,  पक्कै मान्नुहाेला  नि।'

उतिबेला उनको जवाफ आएको थिएन। मैले सोझाे पारामा सामान्य बुझेको थिएँ,  दुई परिवार मिलेर बसेपछि समस्याको समाधान कसो नहोला !

विस्तारै उनी म बाट टाढा हुँदै गइन्।

सायद उनले एकतर्फी आटिसकेको थिइन्, अब मबाट टाढिनुपर्छ भन्ने। घन्टौ कुरा गर्ने मान्छे मिनेटमा गर्दै अचानक म्यासेजमा कुरा हुन थाल्यो। छट्पटी हुन्थ्यो। रिस उठेकाे थिए। शरीरमा काँडा उठेकाे थियाे।

मोबाइलमा कसैकाे कल वा मेसेज आउनबित्तिकै उनकाे हाे कि भनेर हत्तपत्त चेक गर्थें।

मिठो निद्रा ननिदाएको पनि बर्षौ भइसकेछ।

मलाई निद्रा लाग्दैन्थ्यो। कहिले त बिहान चार बजेसम्म या तिन बजेभन्दा पहिले निदाएको कुनै समय थिएन। 

यादहरुमा टोलाइरहन्छु। आँखाबाट आँशु झरिरहेको हुन्छ। मैले घडी हेर्न भ्याएको पनि छैन। कति बेला निदाउछु, थाहा नै थिएन्।

करिब दश दिनपछि बल्ल मैले खोजेको जवाफको उत्तर पाएँ, हाम्रो जात नमिल्ने रहेछ।

सुरुमै सबै कुरा भनेकै थिएँ, म जैसी बाहुन हुँ भनेर। त्यतिबेला उनले भनेकी पनि थिइन्, 'परिवारमा कुरा गर्छु। हाम्रो प्रेमको लागि कसो नमान्नु होला र ? छोराछोरीकाे खुसीभन्दा ठूलो परिवारमा केही हुँदैन।'

मलाई शंका थियो, उसको कुराअनुसार हाम्रो समाज त्यति परिवर्तन भइसकेको छैन। अझै पनि अन्तरजातीय विवाह गर्न गाह्रो छ भन्ने उनको  विश्वासमा मैले सम्बन्ध अगाडि बढाएकाे थियाे।

हुन त, म पनि नचल्ने जातको थिएन। तर जैसी र उपाध्याय बाहुनबीचमै पनि यति धेरै फरक हुदोरहेछ भन्ने महसुस गरेको थिएँ, मैले।

परिवर्तन गर्न हिँडेका उनका बुबा आदर्शका कुरा गर्दै एक राजनीतिक दलमा सक्रिय पनि थिए। तर, उनले आफ्नै घरमा समस्या पर्दा सबैभन्दा पहिले आफ्नै छोरीको प्रेम र खुसीको घाँटी थिचेर अन्त्य गर्छन् भन्ने लागेको थिएन।

प्रेम गर्न नचाहिएको जात, विवाह गर्न चाहिँदो रहेछ। समाजवाद र आदर्शका कुरा घरभन्दा बाहिरमात्र गर्न ठिक हुदोरहेछ। आफ्नै घरमा पर्दा त पहिला पोल्ने आफूलाई नै रहेछ।

मनमा एउटा कुरा अझै पनि सधैँ खेलिरहन्छ, बिहेपछि सम्बन्धबिच्छेदको लागि दुबैको सहमति हुनुपर्ने तर प्रेममा त्यो किन लागू हुँदैन भनेर !

ए साँच्चै, हाम्रो प्रेम कुनै वडा कार्यालय या नगरपालिकामा दर्ता नै भएको छैन। हुन त प्रमाणले चल्ने हो, नियम कानून त !

मसँग न कुनै अभियन्ता थिए, न कुनै प्रेमको प्रमाण थिए। थिए त केवल लाखौँ-लाख म्यासेज र सयौं फोन कल। अथाहा फोटोहरु। वर्षौदेखिको अनिदाे रातहरू। नगन्य यादहरु। पिडाहरु। चोटहरू। लाचार हुनबाहेक मसँग अरु कुनै विकल्प थिएन।

यसैबीचमा प्रेम दिवस आयो। सबैले प्रेम दिवस खुसीका साथ मनाए। तर, मेरो लागि भने जिन्दगीको कालो समय चलिरहेको थियो।

जुन कोठाबाट प्रेमकाे सुरुवात भएको थियाे, आखिर त्यही काेठामा सिमित भयाे हाम्राे प्रेम।

सम्बन्ध जोड्न दुबैको सहमति‌ चाहिने र तोड्नको लागि एकअर्काको सहमति नचाहिदो रहेछ, मलाई थाहा थिएन। पहिलो अनुभव भएर पनि होला !

मैले पनि भुल्न नखोजेको त होइन। नचिच्याएको हाेइन। नरोएको हाेइन। काेठाका ती भित्ताहरूले यादहरु दिलाउँछ भनेर कोठा पनि परिवर्तन गरिसके। तर, मष्तिस्क र मनबाट यादहरू सजिलै नहराउदा रहेछन्।

अझै पनि म झस्किरहन्छु, त्यो भिजेको सिरानी सम्झेर।

कयौं सिरानीका खोलहरु फाटेर बदलिए, तर त्यो आँशुले भिजेको सिरानीका दागहरुले याद अहिले पनि दिलाइरहन्छन्।

एक्लै हुदा आँखा रसाउछ। रातभर निद्रा लाग्दैन। रातिको दुई बजेसम्म कोठाको बाहिर पट्टी बसेर चुरोटको धुवाँ उडाउउँदै तथा मदिरामा उही प्रेम खोजिरहेको छु।

त्यो चम्किलो तारा देख्दा पनि मैले उनलाई देखिरहेको हुन्छु। बाटोमा हिँडिरहेको उनीजस्तै केटी देख्दा पनि उनीजस्तै लागेर बोलाउन खोज्छु।

निदाएको दुई-चार घन्टामा पनि सपनीमा उनी आएर ब्युँझाउछिन्। आँखा बन्द गरेर निदाउने प्रयास गरिरहन्छु। यत्तिकै बिहान हुन्छ। फेरि उही कामतिर निरन्तर लागिरहेको हुन्छु।

मेरो जिन्दगीबाट उनी टाढा भएको मात्र हो, म उनलाई आफूबाट थोरै पनि टाढा बनाउन सकिरहेको छैन। जिन्दगी लथालिङ्ग छ।

नयाँ सुरुवात गर्नको लागि सपना देख्नुपर्छ भन्छन्, तर यहाँ आफू निदाउन नसकेको पनि बर्षौ भएको रहेछ। आफैलाई भुलिसकेको छुर

सपनाको कुरा कसरी गर्नु, खै !  कसरी अगाडि बढ्नु, खै !

अगाडि बढ्न बाटो देखिरहेको छैन। चारैतिर अध्याँरो छ। गहिरो चोटकाे यादहरु आइरहन्छन्। जिन्दगीको अन्धकारबाट निस्किन नसक्ने अवस्थामा छु।

अहो ! लेख्दा-लेख्दै बिहानको तीन बजिसकेको रहेछ। एउटा हातमा चुरोट छ, अर्को हातमा कलमले केही शब्दहरु लेख्दैछु। ठिक यतिबेला पनि आँखाबाट आशुकाे थाेपाहरु यात्रामा निस्किरहेका छन्। 



कथाकाे पहिलाे भागः प्रियसीसँग त्याे रात

प्रकाशित मिति: : 2021-07-10 13:24:00

प्रतिकृया दिनुहोस्